गान्तोक: लामो समयदेखि विभिन्न रोगले ग्रस्त बनेका सिक्किमका वरिष्ठ पत्रकारद्वय हेमन्त गिरी र खगेन्द्रमणि प्रधानलाई उपचार तथा अन्य कार्यका लागि मुख्यमन्त्री पीएस तामाङले आर्थिक सहयोग पुऱ्याएका छन्। दुईजना वरिष्ठ पत्रकारहरूको स्वास्थ अवस्थाबारे प्रेस क्लब अफ् सिक्किमको पक्षबाट विस्तृत जानकारी गराइएपछि मुख्यमन्त्रीले तत्काल सहयोगका लागि आर्थिक सहायता प्रदान गरेका छन्। यसका साथै उनीहरूको रोग उपचार सम्भव भए सिक्किम सरकारको पक्षबाट सम्पूर्ण सहयोग पुऱ्याउने पनि मुख्यमन्त्रीले वचन दिएका छन्। मुख्यमन्त्रीद्वारा प्रदान गरिएको आर्थिक सहयोग प्रेस क्लब अफ् सिक्किमले दुई उपचाराधिन पत्रकारहरूलाई हस्तान्तरण गरेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ साथै रोगको उपचार सम्भव भए प्रेस क्लब अफ् सिक्किमको पक्षबाट सरकार समक्ष पहल अघि बढाउने जानकारी गराइएको छ।
मुख्यमन्त्रीद्वारा गरिएको सहयोगप्रति दुई वरिष्ठ पत्रकारहरूले हार्दिक आभार व्यक्त गरेका छन्। यस सहयोगका लागि प्रेस क्लब अफ सिक्किमले मुख्यमन्त्री तामाङ र सिक्किम सरकारप्रति आभार व्यक्त गरेको छ। साथै भविष्यमा कसैलाई आवश्यक परे हर सम्भव सहयोग हुनेछ भन्ने पूर्ण विश्वास पनि व्यक्त गरेको छ। सिक्किमको पत्रकारिता क्षेत्रमा काम गर्दै आएका पत्रकारहरूले कुनै जटिल उपचार गराउन पर्ने अवस्था भए सिक्किम सरकारले सहयोग गर्ने मुख्यमन्त्री वचन दिएका छन्। यसकारण प्रेस क्लब अफ् सिक्किम र जर्नलिस्ट युनियन अफ् सिक्किममा आवद्ध कोही पनि पत्रकारलाई आफ्नो जटिल रोगको उपचार गराउन कठिनाइ भइरहेको भए प्रेस क्लब अफ सिक्किमसँग सम्पर्क गर्न पनि आग्रह गरिएको प्रेस क्लबका प्रचार सचिव होमनाथ दवाडीले प्रेस विज्ञप्तिमा बताएका छन्।