१३ जुलाईः विश्वका नम्बर एक खेलाड़ी कार्लोस अल्काराजले आशानुरुप प्रदर्शन गर्दै विम्बल्डन टेनिस च्याम्पियनशीपको सेमिफाइनलमा स्थान बनाए। दुईजना २० वर्षीय खेलाड़ीबीच खेलिएको पुरुष एकलको क्वार्टर फाइनलमा शीर्ष वरीयता प्राप्त स्पेनका अल्काराजले नर्वेका होल्गर रुनेलाई सीधा सेटमा ७-६ (३), ६-४, ६-४-ले पराजित गरे। यस जीतको साथै युवा अल्काराजले पहिलोपल्ट सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनको सेमिफाइनलमा स्थान पक्का गरे। सेमिफाइनलमा स्पेनिश खेलाड़ीको भिड़न्त रुसका अनुभवी खेलाड़ी दानिल मेदवेदेवसँग हुनेछ। मेदवेदेवले अमेरिकाका खेलाड़ी क्रिस यूब्यांक्सलाई संघर्षपूर्ण क्वार्टर फाइनलमा ६-४, १-६, ४-६, ७-६, ६-१-ले पराजित गरे। यस जीतको साथै तेस्रो वरीयता प्राप्त मेदवेदेव तेस्रोपल्ट विम्बल्डनको सेमिफाइनलमा पुगे।
क्वार्टर फाइनलमा पहिलो सेटको फसेला टाईब्रेकरमा भए पनि अन्य दुईवटा सेट जित्न अल्काराजलाई अधिक मेहनत गर्नु परेन। अल्काराज र रुने वाल्यकालका साथी हुन्। म्याच जितेपछि अल्काराजले भने, यो मेरो निम्ति आश्चर्यजनक हो। टेनिस खेल्न शुरु गरेदेखि नै विम्बल्डनमा खेल्ने अनि असल नतीजा हासिल गर्ने सपना थियो। मेरो निम्ति यो अति सुन्दर अनि असाधारण टुर्नामेण्ट हो। यहाँ सेमिफाइनल खेल्नु एउटा सपना नै हो। अहिले म असल स्थितिमा रहेको छु अनि सेमिफाइनल म्याचलाई लिएर आशावादी छु। अल्काराजको विपरीत मेदवेदेवले चाहिँ म्याच जित्न कठोर मेहनत गर्नु पऱ्यो। म्याचको पहिलो सेट जितेपछि रुसका खेलाड़ीले फर्म गुमाए अनि यसको फाइदा उठाउँदै यूब्यांक्सले अघिल्लो दुईवटा सेट जितेर म्याचलाई रोचक मोड़मा पुऱ्याए। चरम दबाउमा मेदवेदेवले पनि चौथो सेटलाई टाईब्रेकरमा जितेर म्याचलाई पाँचौं तथा निर्णायक सेटसम्म पुऱ्याए, जसमा उनले आफ्नो अनुभवको फाइदा उठाउँदै जीत हासिल गरे।