गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले २०९औं भानु जयन्तीको पावन अवसरमा सिक्किमका जनतालगायत विश्वभरिका नेपाली भाषी अनि नेपाली भाषाप्रेमी जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना सँगै आरोग्य, सुख-शान्ति, समृद्धि अनि उत्तरोत्तर प्रगतिको मंगलमय कामना गरेका छन्। मुख्यमन्त्री तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा जारी सन्देशमा भनेका छन्, ‘भानु जयन्ती विश्वभरिका विभिन्न स्थानमा मनाइने एक वार्षिक उत्सव हो जसले गहिरो सांस्कृतिक, बौद्धिक अनि पारम्पारिक महत्व राख्दछ। विभिन्न साहित्यिक गोष्ठी तथा अन्य सांस्कृतिक गतिविधिहरु सम्पन्न यो उत्सव एक महान साहित्यिक अनि जातीय समग्रताको रूपमा राज्यमा मनाइन्छ भने सम्पूर्ण भाषाप्रेमी अनि साहित्यप्रेमी जनसमुदाय लगायत साहित्यका प्रशंसकहरुले उत्साहपूर्ण तवरले भाग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मदिवस भव्यताका साथ मनाउने गरिन्छ।’
आदिकविको सबैभन्दा महत कार्य, संस्कृत भाषाबाट नेपाली भाषामा सरल छन्दमा महाकाव्य रामायणको अनुवाद गरि तयार गरिदिनु एउटा अनुकरणीय कार्य रहेको मुख्यमन्त्रीले बताएका छन्। उनले भनेका छन्, ‘उक्त ग्रन्थ हामी सबैको निम्ति एक अमूल्य रत्न हो जसले नेपाली समुदाय लगायत नेपाली भाषाप्रेमी जनसमुदायमा ठुलो जोश तथा हौसला प्रदान गरेको छ। आदिकवि भानुभक्त आचार्य साहित्यकारहरूका लागि मात्र नभई आफ्नो स्थानीय भाषाको शक्ति र महत्त्वको वकालत गर्ने सबैका लागि प्रेरणाका श्रोत हुनुहुन्छ। नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको अमूल्य योगदान र नेपाली साहित्यलाई अग्रस्थानमा पुर्याउन उहाँले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई कसैले बिर्सन सक्दैन।’
उनले अझ भनेका छन्, ‘हाम्रो राज्यमा विभिन्न समुदाय एकबद्ध भई परस्परमा बडो आदरपूर्वक यस्ता उत्सवहरु मनाउने चलन छ। यो हामी बीचको साम्प्रदायिक सद्भावनाको एक अनमोल दृष्टान्त हो जसको फलस्वरूप एकार्कामा प्रेमभाव अनि भाइचारा अझ प्रबल भएर जान्छ साथै विभिन्न समुदायको सानिध्यमा सबैले सौहार्द्पूर्ण, प्रेममय भावना, शितल चैतन्य, सलिल स्पन्दनको अनुभुति महशुस गरिरहेका हुन्छन्। आजको यो पावन अवसरमा म सबैलाई सादर नमन गर्दै हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु।’ –हिस