गान्तोक: उत्तर सिक्किमको लाचुङमा जुम्सा (स्थानीय सरकार) ले यस वर्ष स्वतन्त्रता कप फुटबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। अन्यहरूको साथमा पिपन पेमा वाङ्गदी लाचुङ्गपाले आज राजधानीमा पत्रकारहरूसित कुराकानी गर्दै यो जानकारी दिएका हुन्। उल्लेखनीय छ, लाचुङमा पछिल्ला वर्षहरूमा विभिन्न सङ्घ संस्थाले फुटबल टुर्नामेन्टको आयोजना गर्दै आएको छ तर यस वर्ष पहिलोपल्ट जुम्साले यसरी नगद राशि फुटबल टुर्नामेन्ट आयोजना गर्ने भएको हो।
स्थानीय थुम्ची स्कूलको खेल मैदानमा आगामी १ अगस्तदेखि आरम्भ हुने स्वतन्त्रता कप फुटबल टुर्नामेन्टको फाइन १५ अगस्तको दिन देशको स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न हुनेछ। टुर्नामेन्टको विजेता क्लबलाई ट्रफीको साथमा नगद ३ लाख ५० हजार रुपियाँ र उपविजेता क्लबलाई ट्रफीको साथमा २ लाख रुपियाँ नगद प्रदान गरिनेछ।
लाचुङ क्षेत्रमा फुटबल खेलको प्रचार अनि स्थानीय युवा प्रतिभाहरूलाई प्रोत्सहान गर्नको निम्ति यसपल्ट जुम्सा आफैले यसरी फुटबल टुर्नामेन्ट आयोजना गरेको पिपन पेमा वाङ्गदी लाचुङ्गपाले बताए। यसको साथै उनले राज्य अनि राज्य बाहिरका क्लब अनि खेलाड़ीहरूलाई यस टुर्नामेन्टमा सहभागिता जनाएर स्थानीय युवा प्रतिभाहरूलाई प्रोत्सहान गर्ने पनि उनले अपील गरेका छन्।