काठमाडौं: नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौं तराई द्रुत मार्ग फास्ट ट्रयाक निर्माणको तीन प्रकारको ठेक्का प्रक्रिया रद्ध भएको छ। भारतीय कम्पनी प्रतिस्पर्धी रहेको ठेक्का प्रक्रिया रद्धको सूचना नेपाली सेनाले बुधबार प्रकाशित गरेको छ। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले फास्ट ट्रयाक निर्माणका दुईवटा प्याकेजका तीन प्रकारको ठेक्का प्रक्रिया रद्ध भएको जानकारी दिए। उनले प्राविधिक कारणले कुनैपनि प्रतिस्पर्धी कम्पनी छनोटमा पर्न नसकेपछि रद्ध गरिएको बताए।
नेपाली सेनाले अप्रेल महिनामा फाष्ट ट्रयाकको प्याकेज ८ ए, ९ ए र ९ बी को ठेक्का खोलेको थियो। जसमा भारतीय कम्पनीहरु पनि प्रतिस्पर्धी थिए। तर, ठेक्का प्रक्रिया नै रद्ध गरेपछि उनीहरु छनोट हुने सम्भावनाको ढोका बन्द भएको छ। सेनाले फास्ट ट्रयाकको प्याकेज १ देखि ७ सम्मको ठेक्का सम्झौता गरेर काम बढाइसकेको छ। सात वटै प्याकेजहरुमा चिनियाँ कम्पनीले ठेक्का पाएका छन्। उनीहरुको काम विवादमा पर्दै आएको छ। पछिल्लो समय रद्ध गरिएको फास्ट ट्रयाक अन्तर्गतको प्याकेज नम्बर ९ खमा भारतीय कम्पनी एनएचआइडीसीएलसहित पाँच कम्पनी प्रतिस्पर्धामा थिए। फास्ट ट्रयाकको प्याकेज नम्बर ८ ए ९ ए को ठेक्का प्रक्रियामा भारतको इरकोन कम्पनी सहभागी थियो। -हिस