भागोप्रमोको निर्विरोध पञ्चायत सदस्य कुसाङ लामाको जनतासित भेटघाट कार्य जंगपानाबाट शुरु

IMG-20230712-WA0409.jpg

खरसाङ: यसपालीको पञ्चायत चुनावमा महानदी ग्राम पञ्चायतमा रहेको पञ्चायत समितिको सिटमा निर्विरोध रहेर बिजय हाँसिल गरेका पञ्चायत समितिको सदस्य कुसाङ लामाले जनतालाई भेटेर धन्यवाद दिने तथा जनतासितको सम्पर्क कार्यलाई शुरु गरेका छन्। महानदी ग्राम पञ्चायतको सिविटार, गिताङ्गे र जंगपाना क्षेत्रको गरी जम्मा चारवटा बुथहरूको पञ्चायत समितिको सिटमा निर्विरोध विजेता बनेका कुसाङ लामाले आफ्नो बुथ जंगपानादेखि जनतासित भेटघाट कार्यको थालनी गरेका छन्।

यस क्रममा जंगपाना चियाबारीमा रहेको जनता र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरू साथै भागोप्रमोको प्रार्थी सिर्जना राईसित पनि भेटघाट गरी मनोबल बढ़ाउने कार्य गरेका छन्। उनी यसपालीको पञ्चायत चुनावमा जंगपाना चियाबारीबाट भागोप्रमोको प्रार्थी थिइन् तर उनले जंगपानाको सिटमा हारको सामना गर्नु परेको थियो। यस सिटमा गठबन्धन दलको प्रार्थीले बिजय हाँसिल गरेका छन्।

उक्त भेटघाट कार्यक्रममा पञ्चायत समितिको सदस्य कुसाङ लामालाई जंगपानामा परिचय गराइएको थियो भने खदार्पणसहित बधाई अनि स्वागत जनाइएको थियो। उक्त कार्यक्रमलाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले सञ्चालन गरेका थिए भने कार्यक्रममा भागोप्रमो तीनधारे महानदी समष्टिको पदाधिकारीहरू टिका शर्मा, युवा शक्तिको निखिल छेत्री, महानदी ग्राम पञ्चायतको सदस्यमा सिविटारबाट निर्वाचित बनेका सदस्य राजीव तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए।

यस अवसरमा कुसाङ लामाले जंगपाना क्षेत्रमा भागोप्रमोको प्रार्थीको पराजय भए पनि पञ्चायत समितिको सदस्यको रूपमा आफु रहेकोले जंगपाना क्षेत्रमा आफुले सक्ने जति विकासको कार्यहरूमा सहयोग गर्ने वचन दिएका छन्। आजाको कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सागर गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement