स्मिता सोताङ बनिन् पहिलो राष्ट्रिय नेपाली कविताको विजेता

IMG-20230712-WA0424.jpg

गान्तोक: २०९औं भानुजयन्तीको अवसरमा नेपाली साहित्य परिषद्, सिक्किमले यस वर्ष राष्ट्रिय नेपाली कविता प्रतियोगिता र राज्यस्तरीय नेपाली कविता प्रतियोगिता (विद्यालयस्तर) भव्य कार्यक्रमबीच सम्पन्न भयो। राष्ट्रियस्तरमा क्रमैले जलढकाकी स्मिता सोताङ, बिजनबारीका सूरज शर्मा अनि रिनाकका सुचन प्रधान पहिलो, दोस्रो र तेस्रो भए। यसै गरी विद्यालयस्तरमा वृहस्पति प्रसाई उच्चतर माध्यमिक विद्यालयकी सबिना राई, बोजोधारी उच्चतर माध्यमिक विद्यालयकी वसन्ती राई अनि मङ्‌सारी माध्यमिक विद्यालयकी अञ्जली छेत्री पहिलो, दोस्रो र तेस्रो भए।

पद्मश्री सम्मानले सम्मानित साहित्यकार सानु लामा यस समारोहका मुख्य अतिथि थिए भने नेपाली साहित्य परिषद्‌का अध्यक्ष हरि ढुङ्‌गेल सभाध्यक्ष थिए। आफ्नो सम्बोधनमा सानु लामाले यस प्रकारको आयोजनाले प्रतियोगितात्मक क्षमता वृद्धि सँगसँगै समभागी सर्जकहरूबाट प्रेरित हुने अवसर प्रदान गर्ने बताउए। कला सिर्जना र प्रस्तुति दुवैद्वारा सिँगारिनुपर्ने आवश्यकता बोधलाई यो पहलले सहयोग गरेको कुरा पनि उनले बताए। सभाध्यक्ष हरि ढुङ्‌गेलले स्वागत भाषण राख्ने क्रममा यो प्रतियोगिताले २०९औं भानु जयन्तीको औचित्य र उद्देश्य परिपूर्ति गर्ने प्रक्रमलाई सफल तुल्याएको बताए। उनले आफ्नो सम्बोधनमा प्रतियोगितामा आएका विशिष्ट कविताहरूको पुस्तकाकार प्रकाशित गरिने घोषणा पनि गरे।

कार्यक्रममा राष्ट्रिय स्तर र विद्यालयस्तरका शीर्ष दस-दसजना कविले प्रस्तुत गरे। राष्ट्रियस्तरको कविता प्रतियोगिताका निर्णायकहरूमा मङ्पू दार्जीलिङकी डा रेमिका थापा, कालेबुङका सुधीर छेत्री र गान्तोकका प्रवीण राई ‘जुमेली’ रहेका थिए भने विद्यालय स्तरका निर्णायकगणमा सुधा एम राई, डा टेकबहादुर छेत्री र प्रवीण खालिङ रहेका थिए। आज नै दुवै स्तरका सात-सातजना कविलाई सान्तवना पुरस्कार प्रदान गरियो भने पहिलो, दोस्रो र तेस्रो हुने कविहरूलाई भोलिको कार्यक्रममा सम्मानित गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement