गान्तोक: विगत केही दिनदेखि पूर्व मन्त्री छिरिङ वाङदी लेप्चाले सिक्किम ऊर्जा लिमिटेडको सेयर राज्य सरकारले बिक्री गरेको आरोप लगाउँदै आइरहेका छन्। उनको आरोप असत्य रहेको र राज्य सरकारले कुनै पनि सेयर बिक्री नगरेको मन्त्री एमएन शेर्पाले दावी गरेका छन्। आज राजधानीस्थित टाशीलिङ सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शेर्पाले सरकारले सिक्किम ऊर्जा लिमिटेडको सेयर बिक्री नगरेको र अहिलेसम्म यथावत रहेको किटान गरेका छन्। यदि राज्यको सेयरमाथि कसैलाई शंका लागेमा एक सय रूपियाँको चलन काटेर यसको वेबसाइटमा गएर हेर्नुपर्ने सुझाउ दिए। यसरी नै मन्त्री पदमा बसिसकेका लेप्चाले कुनै प्रकारको आरोप लगाउनु भन्दा अघि अध्ययन गर्नुपर्ने उनले आग्रह गरेका छन्। घर छेउमा भएको परियोजनाबारे बोल्नु भन्दा अघि राम्रोसँग अध्ययन गरेर मात्र मीडियामा आउनु पर्ने थप सुझाउ दिएका छन्। हाल राज्यको सेयर ६०.८ प्रतिशत रहेको विद्युत एवम ऊर्जा विभाग मन्त्री एमएन शेर्पाले बताएका छन्। यस भन्दा अघि राज्यको सेयर २६ प्रशित रहेको मन्त्रीले अवगत गराए। तर अहिले वृद्धि भएर ६०.८ प्रतिशत पुगेको कुरा पूर्वमन्त्रीलाई ज्ञात नभएको जानकारी गराए। यदि २६ प्रतिशत नै सेयर राखेको भए सिक्किम सरकारलाई १२ प्रतिशत पाउने र धेरै लाभ हुन सक्ने अवगत गराए। हाल वर्तमान सरकारले सिक्किम व्याङकबाट ऋण लिएर तिर्नु परिरहेको जनाए। यदि ऋण तिर्न नसकेको खण्डमा उक्त परियोजना एनपीएफ हुने कुरालाई ध्यानमा राख्दै अहिले वर्तमान सरकारले तिरिरहेको जनाए। यदि पूर्व सरकारले भूल नगरेको भए अहिले वर्तमान सरकारले यति धेरै ऋण तिर्नुपर्ने अवस्था नआउने उनको भनाइ रहेको छ। यस परियोजना २०१७ मा शुरू भएको बताउँदै अहिले यसलाई बचाउन साथै संरक्षण गर्ने दिशामा सरकारले काम गरिरहेको किटान गरे। विशेष गरेर सरकारले उक्त परियोजनालाई अघि बढाउनको निम्ति अनावश्यक खर्च पनि कटौती गरेको जनाए। राज्य सरकारको सेयर अहिलेसम्म बिक्री नगरेको मन्त्री शेर्पाले दावी गरेका छन्। यसै क्रममा सिक्किम ऊर्जा लिमिटेका पूर्व अध्यक्ष ग्यान्देन लाचुङपाले पूर्व सरकारले भूल गरेको कारण अहिले विभिन्न प्रकारको कुरा उठिरहेको बताए। पूर्व सरकारले २६ वटा जलविदुत परियोजना शुरू गर्नको निम्ति अनुमति दिएको बताए। तर ती मध्ये कतिपय परियोजना एनपीएफ भइसकेको जानकारी गराए।