हम्पी (कर्नाटक): भारतको जी-२० अध्यक्षतामा तेस्रो सांस्कृतिक कार्य समूह (सीडब्ल्युजी) बैठक बुधबार कर्नाटकको हाम्पीमा सम्पन्न भयो। चार दिनसम्म चलेको उक्त कार्यक्रम पट्टाविराम मन्दिरमा विदेशी पाहुनाका लागि विशेष योग सत्रको साथ सम्पन्न भएको थियो। बैठकमा सबै सदस्य राष्ट्रहरूका साथै अतिथि राष्ट्रहरू र सात अन्तर्राष्ट्रिय संस्थाहरूका नौ संवाद साझेदारहरूको सहभागिता थियो।

यससँगै आउँदो महिना वाराणसीमा हुने संस्कृति मन्त्रीस्तरीय बैठकका लागि सदस्य राष्ट्रहरूबीच संयुक्त विज्ञप्ति बनाउने विषयमा पनि केन्द्रित रहेको छ। बैठकको मुख्य उद्देश्य संस्कृति मन्त्री स्तरीय घोषणापत्रका विषयमा सहमति जुटाउने थियो। यस कार्य समूहअन्तर्गत हालसम्म आयोजित सबै वेबिनारहरू सफल भएका छन् र ती सबै सदस्य राष्ट्रहरू र सात बहुपक्षीय संस्थाहरूले भाग लिएका छन्। संस्कृति कार्य समूहले तीनवटा बैठकहरूबाट ठोस कार्यमुखी परिणामसहित बलियो घोषणा गर्ने अपेक्षा गरिएको छ। यस वर्षको २६ अगस्तमा वाराणसीमा हुने संस्कृति मन्त्रीस्तरीय बैठकमा विश्वव्यापी विषयगत वेबिनारको प्रतिवेदन सार्वजनिक गरिनेछ।

हम्पीमा भएको भेलामा लाम्बानी एम्ब्रोइडरी प्रदर्शनीले सबैको ध्यानाकर्षण गराएको थियो। प्रदर्शनीको नारा ‘संस्कृतिले सबैलाई एकजुट गर्छ’ रहेको थियो जसको उद्घाटन केन्द्रीय मन्त्री प्रह्लाद जोशीले गरेका थिए। यस प्रयासमा लाम्बानी समुदायका ४५० भन्दा बढी महिला कारीगरहरू संलग्न थिए, जो सन्दुर कुशल कला केन्द्रसँग आवद्ध छन्।

सो अवसरमा आफूले बनाएका करिब १३ सय लाम्बानी एम्ब्रोइडरी प्याच वर्क प्रदर्शन गरिएको थियोl यसलाई सराहनीय प्रयास भएको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो प्रदर्शनीले नारी शक्तिको सहभागितालाई प्रोत्साहन गर्ने बताए।

बैठकपछि जी-२० प्रतिनिधिहरूलाई बाँस सिम्फनी ब्यान्ड र अन्य सांस्कृतिक प्रदर्शनहरू पनि प्रस्तुत गरियो। अर्कोतर्फ, विदेशी पाहुनाहरूले पनि हम्पीको अचम्मको वास्तुकलाको प्रशंसा गर्ने मौका पाए। जी-२० प्रतिनिधिहरूलाई युनेस्कोको विश्व सम्पदा क्षेत्र, विठ्ठल मन्दिर, शाही घेरा र हम्पी ग्रुप अफ मोन्युमेन्ट्सको येदुरु बसवन्ना कम्प्लेक्स जस्ता सम्पदा स्थलहरूमा लगिएको थियो।