सिलगढी: पंचायत र पंचायत समितिको चुनाव लड़ेका कालेबुङका भाजपा उम्मेदवारहरूसँग सांसद राजु बिष्टले आज भेट गरेको विज्ञप्तिमा बताएका छन्। उम्ले सबैलाई धन्यवाद जनाएका छन्। विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘बितेका २३ वर्षदेखि हाम्रो क्षेत्र धरातलीय स्तरको लोकतन्त्रबाट वञ्चित रहिआएको थियो। जसको फलस्वरूप, हाम्रा गाउँहरूले भताभुङ्ग पूर्वाधार, सरकारी सेवा र परियोजनाहरूका प्रावधानहरू नहुनु, केन्द्रीय योजनाहरूको कार्यान्वयन अनि कोषको अभाव जस्ता व्यापक समस्याहरूको सामना गर्न परिरहेको छ। यसको सोझो फाइदा राजनीतिक सम्बन्ध हुने गन्तीका मान्छेहरू अनि तिनका परिवारका सदस्यहरूले उठाएl’
‘पंचायत र पंचायत समिति बनेपछि जनताबाट प्रत्यक्ष रूपले निर्वाचित १२०० भन्दा अधिक जनप्रतिनिधिले सार्वजनिक स्रोतको खुल्ला लुटपाट अन्त्य गर्न मद्दत गर्नेछन् भन्ने कुरोमा म आशावादी छु। उहाँहरुले ‘प्रधानमन्त्री आवास योजना’ जस्ता कल्याणकारी योजनाहरू आफन्त र पार्टीको आधारमा नदिएर, आवश्यकता र योग्यताका आधारमा वितरण गर्नेछन् भनी म विश्वस्त छु’, सांसद राजु बिष्टले यसो भनेका छन्। निर्वाचित प्रतिनिधिहरूको प्रत्यक्ष हस्तक्षेपद्वारा ग्रामीण क्षेत्रका विद्यालयहरूको कायाकल्प हुने अनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा व्यवस्थाको आधुनिकीकरण हुनेबारेमा उनले आशा प्रकट गरेका छन्। विज्ञप्तिमा अझ यसो भनेका छन्, ‘अबउसो एमजीएनआरईजीएको लाभ सुपरभाईजर र ठेकेदारहरूलाई मात्र नभएर सोझै ग्रामीण क्षेत्रमा रहने हाम्रा जनतालाई हुनेछ। यी निर्वाचित प्रतिनिधिहरू र ग्रामसभाले आ-आफ्नो क्षेत्रमा ‘हर घर जल’ योजना कोषको शतप्रतिशत उपयोग सुनिश्चित गर्नेछन् र ग्रामिण सड़क योजना, पर्वतमाला योजनाद्वारा आफ्नो गाउँसम्म पुग्ने राम्रो बाटो को व्यवस्था साथीक ढंगमा गर्नेछन्l’