कोलकाताः भाजपा सांसद एवं पार्टीका वरिष्ठ नेता रविशंकर प्रसादको नेतृत्वमा भाजपाको चार सदस्यीय तथ्य-खोज समिति बुधवार कोलकाता पुग्यो। भाजपा अध्यक्ष जेपी नड्डाद्वारा गठन गरिएको यस समितिले बंगालमा पञ्चायत चुनाउमा भएको व्यापक हिंसाको जाँच गर्नेछ। प्रतिनिधिमण्डलले बिहिवार हिंसा प्रभावित क्षेत्रहरूको भ्रमण गर्नेछ। यसमा मुम्बईका पूर्व पुलिस कमिश्नर सत्यपाल सिंह, रेखा वर्मा, राज्यसभा सांसद बृजलाल र असमबाट लोकसभा सांसद डा. राजदीप रोय सदस्य हुन्।
कोलकाता पुगेपछि रविशंकर प्रसादले भने, राज्यमा यति धेरै मानिसहरू मारिए र यति व्यापक स्तरमा हिंसा भयो, यो दुर्भाग्यपूर्ण हो। ग्राम पञ्चायत चुनाउमा ४० भन्दा धेरैको ज्यान गयो। पीएम नरेन्द्र मोदी विरूद्ध गठबन्धन बनाउने प्रयास गरिरहेका तथाकथित सहयोगी किन मौन छन् ? हामी हिंसा प्रभावित क्षेत्रहरूको भ्रमण गर्नेछौं र राष्ट्रपतिलाई आफ्नो रिपोर्ट सुम्पिनेछौं। आशा छ, ममता सरकारले हामीलाई प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने अनुमति दिनेछ।
-हिस