बीरपाड़ा: गत् ०८ जुलाई बानरहाट ब्लकको नथुबा क्षेत्रमा पर्ने १५/४८ बुथमा खवर सङ्कलन गर्न गएका पत्रकारहरूमाथि असामाजिक तत्वहरूद्वारा बर्बरतापूर्ण हमला गर्ने दोषीहरूलाई अविलम्ब पक्राउ गर्ने मागसहित घटनाको घोर भत्सर्ना गर्दै बीरपाडा मदारीहाट जर्नलिस्ट क्लबद्वारा हिज बीरपाडा थानामा एक ज्ञापनपत्र बुझाएको छ। जनमानस समक्ष सत्य तथ्य र खबर उजागर गर्न सामाजिक तौरमा खटिरहेका पत्रकारहरूमाथि यस्तो प्राणघातक हमलाले गणतन्त्र खतरामा रहेको महसुस गर्दै चारैतिर यस घटनाको निन्दा र प्रतिवाद गरिरहेको बीच मदारीहाट बीरपाडा जर्नलिस्ट क्लबले पनि सो ज्ञापनपत्र बुझाएको हो।
ज्ञापन बुझाउने समय क्लबका सचिव हर्कु तामाङ, उपाध्यक्ष एमएच खान, सहसचिव सुभङ्कर चक्रवती, मुकेश जयसवाल, सहकोषाध्यक्ष बुद्धिमान लामा, कार्यकारी सदस्य मनिषकुमार सिंह, धनञ्जय तालुकदार, शनि तामाङ आदिको उपस्थिति रहेको थियो। पीडित पत्रकारहरूका पक्षमा उभिएर दोषीहरूलाई अविलम्ब पक्राउ गर्ने माग रहेको क्लबका सचिव हर्कु तामाङले जनाएका छन्।