काठमाडौं: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। उनको बुधबार बिहान नेपाली समयअनुसार ८ बजेर ३३ मिनेटमा निधन भएको हो। आकस्मिक रुपमा काठमाडौंको नर्भिक अस्पतालमा लगिएकी दाहालको निधन भएको अस्पताल स्रोतले हिन्दूस्थान समाचारलाई जानकारी दिएको छ।

उपचारमा संलग्न चिकित्सकले उनलाई हृदयघात भएको बताएका छन्। सीता दाहाल लामो समयदेखि दीर्घरोगको समस्याले अस्वस्थ थिइन्। उनको भारतलगायत विभिन्न देशमा उपचार भएपनि नीको भएको थिएन। पति प्रचण्डसहित उनका दुई छोरी गंगा र रेणु दाहाल छन्। छोरा प्रकाश दाहाल र छोरी ज्ञानु केसीको निधन भइसकेको छ। छोरा प्रकाशको निधनपछि सीताको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। ६९ वर्षकी सीता प्रचण्डको राजनीतिक यात्राको विशेष सहयोगी पनि थिइन्। -हिस