गान्तोकः युवाहरू भोलिको कर्णधार हुन् अनि उनीहरूको सशक्तिकरण साथै स्वनिर्भर अनि स्वावलम्बी बनाउन हेतु आजको नेतृत्वले उनीहरू सही मार्गदर्शन गर्नुपर्छ भन्ने ध्येयका साथ भारतीय जनता पार्टी, युवा मोर्चा, (बीजेवाईएम) सिक्किम शाखाको तत्वावधानमा आज सिङ्ताम स्थित प्रदेश कार्यालयमा युवा समन्वय सभा सम्पन्न भयो। सभामा पार्टी प्रदेश अध्यक्ष डी. आर. थापा मुख्य अतिथिको रूपमा उपस्थित थिए भने उपाध्यक्ष अर्जुन राई, प्रदेश स्तरका युवा नेतृत्वगण साथै बीजेवाईएम पदाधिकारीगण अनि राज्यभरिबाट उपस्थित युवाहरूको बाक्लो उपस्थिति रहेको थियो। समन्वय सभाको उद्देश्य आगामी दिनको निम्ति युवा जमातलाई तयार गर्नका साथै जिम्मेवारी प्रदान गर्नु प्रमुख रहेको थियो।
सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डी. आर. थापाले युवा समन्वय सभाको सफल आयोजनको निम्ति बीजेवाईएम टोलीलाई बधाई दिँदै युवा मोर्चाले अब राज्यका युवाहरूलाई सही बाटोमा डोऱ्याउने अभिभारा लिनुपर्ने कुरामा जोर दिए। उनले विशेष गरेर आज राज्यमा बढ्दो बेरोजगारी साथै युवाहरूमा निराशाको माहोल रहेको विषयलाई अघि ल्याउँदै अब यस समस्यालाई उचित सम्बोधन गर्ने क्षमता केवल भाजपामा रहेको बताए।
अप्पर बुर्तुकका विधायक पनि रहेका डी. आर. थापाले उपस्थित युवाहरूलाई भारतीय जनता पार्टीको नीति-सिद्धान्तसँग जन-जनलाई जोड्ने दिशामा दिनरात खटेर काम गर्ने आह्वान गर्दै भाजपामाथि बारम्बार लागिरहने आरोपहरूमाथि पनि स्पष्ट रूपमा युवाहरूलाई जागरूक गराए। आज सिक्किमको हित र असित्त्वको सुरक्षा गर्ने दिशामा भाजपा कटिबद्द रहेको बताउँदै हालै नेपाली समुदायमाथि लागेको लाञ्छनालाई मेटाउन भाजपाले महत्वपूर्ण भूमिका निर्वाह गरेको साथै सर्वोच्च न्यायालयको फसेलामा संविधानको धारा ३७१ एफ तरलीकरण भएको विषयलाई सबैभन्दा पहिला इंगित गर्ने अनि विधानसभामा आवाज उठाउने आफू एक्लो विधायक रहेको उदाहरण दिए।
यसै गरी पार्टी उपाध्यक्ष अर्जुन राई अनि कार्यकारी सदस्य डा. कमल अधिकारी, जिग्मी लाचुङ्पा साथै कर्मा याङ्तेन चांकापाले आफ्नो सम्बोधनमा विभिन्न प्रेरणादायी उदाहरणहरू पेश गरेर युवाहरूलाई उत्साहवर्द्धन गरेका थिए। यसअघि, सभामा विभिन्न स्थानहरूबाट आएका युवाहरूले भारतीय जनता पार्टीमा आ-आफ्नो अनुभव साझा गर्दै पार्टीलाई अघि बढ़ाएर लैजान के-कस्ता पहलहरू गरिनुपर्ने भन्ने विषयमा आफ्नो सल्लाह-सुझाउहरू राखेका थिए। उनीहरूले विशेष गरी आजको युवा जमातको प्रायः जसो राजनैतिक रूपमा शोषण भइरहेको बताउँदै केवल भारतीय जनता पार्टीले मात्र युवाहरूलाई आत्मनिर्भर र स्वावलम्बी बन्ने दिशामा मार्गदर्शन दिनका साथै केन्द्रमा भाजपा सरकारले विविध स्वरोजगारका योजनाहरूबाट लाभान्वित पुऱ्याउँदै आएको बताए।

यसैगरी वर्तमानमा विभिन्न विसंगतिहरूमा फँसेर देशको भोलिको कर्णधार मानिने युवाहरू गलत बाटोमा गइरहेको बताउँदै उनीहरूलाई सही बाटोमा ल्याउने अनि स्वनिर्भर बनाउने साथै भ्रष्टाचारमुक्त शासन व्यवस्था दिने नीति केवल भाजपामा रहेको आशय प्रकट गरे। आजको बैठकको शुरूवातमा हालै रहस्यमय ढंगमा मृत्यु भएका नाम्ची महाविद्यालय, एसआरसी अध्यक्ष स्व. पदम गुरुङको स्मरणमा दुई मिनटको मौन धारण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।