एसडीएफ सरकारले खेललाई राजनीतिकरण गऱ्योः मुख्यमन्त्री
गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले माइनिङस्थित क्रिकेट खेल मैदान परिसरमा निर्मित सेन्टर अफ् एक्सिलेन्स रेसिडेन्सियल क्रिकेट इन्स्टिच्युट, क्याफे अफ्फसाइड, क्लब हाउस अनि रेन वाटर रिजर्भीयरको उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आज भएको विभिन्न पूर्वाधारहरुको उद्घाटनको निम्ति मुख्यमन्त्रीले सिक्किम क्रिकेट एसोसिएशनका सबै सदस्यहरूलाई बधाई दिए। अब उसो यहाँको होस्टेलमा बस्ने नानीहरूलाई क्रिकेट प्रति समर्पित बनेर राज्यको नामलाई रोशन गर्ने सुझाउ सहित शुभकामना दिए। क्रिकेट खेललाई यहाँसम्म ल्याउनको निम्ति खेलाडी साथै संस्थाले गर्नुपरेको चुनौतीको सामना प्रति पनि उनले स्मरण गराए। सीकाले स्थापनाको ३६ वर्ष पूरा गरेकोमा उनले सबैलाई बधाई दिए। वर्ष १९८७ देखि हालसम्म जस जसले सिकालाई अघि बढाउन योगदान पुऱ्याए उनीहरूप्रति मुख्यमन्त्री तामाङले कृतज्ञता प्रकट गरे।
उनीहरूले पुऱ्याएको योगदानले नै अहिले सिक्किमले क्रिकेटको क्षेत्रमा धेरै उपलब्धिहरु हासिल गरेको बताए। मुख्यमन्त्री तामाङले वर्ष २००४ देखि आफूले सिकाको अध्यक्षता गर्दा संगठनले भोग्नु परेको समस्या अनि चुनौतीहरूको पनि सम्झना गरे। पूर्व सरकारले खेलमा राजनीति गरेको कारण राज्यमा खेलकूद फस्टाउन नसकेको अवगत गराए। उक्त एसोसिशनमा आफूले कार्य गरिरहेको समय सिका ग्राउण्डको लिज पनि तत्कालीन सरकारले उडाउन लागेको उनले किटान गरे।
त्यो समय आफू लगायत अन्य सदस्यहरूले दुःख सहेर रोपेको बिरुवाले अहिले फल दिएको देख्दा मुख्यमन्त्री तामाङले खुशी प्रकट गरे। यसरी नै सबैले यसमा हात बढाएर सहयोग पुऱ्याएको एकदिन सिक्किम राज्यबाट पनि विश्वस्तरीयको खेलाडीहरू अवश्य पनि जन्मिन सक्ने कुरामा उनले विश्वास व्यक्त गरेका छन्। यसको निम्ति प्रशिक्षार्थीहरुले दिन रात एक गरेर आफूलाई तयार पार्ने मुख्यमन्त्री तामाङले परामर्श दिए। अब सबैले खेललाई केवल मनोरञ्जनको रूपमा मात्र नलिएर यसलाई व्यवसायिक रूपले लिएर अघि जानुपर्ने पनि सबैले आग्रह गरे। यदि कसैले आफ्नो पारिवारिक अवस्थाको कारण असमञ्जसमा छ भने वर्तमान सरकार प्रत्येकलाई सहयोग प्रदान गर्न सदैव तयार रहेको मुख्यमन्त्री तामाङले बताए। सिक्किममा सरकारले पर्याप्त मात्रामा सहयोग प्रदान गरिरहेको तर कतिपयले यसको महत्व नराखे गरेको बताउँदै अफ्नुमा प्रशस्त भएर सहयोग गरेको होइन तर नहुनुको दुःख थाह भएर मैले सहयोग दिने गरेको मुख्यमन्त्री तामाङले बताए।

वर्तमान सरकारले खेलको क्षेत्रमा अनेकौं कार्य गरिरहेको मुख्यमन्त्री तामाङले जनाए। राज्यका कसैले पनि कुनै पनि खेलको विधामा नाम रोशन गरे उसको नाममा अकाडेमीको निर्माण गर्ने कार्य भइरहेको पनि मुख्यमन्त्री तामाङले बताए। केही दिन अघि मात्र तरूण्दीप राईको नाममा अर्चरीको एकादमीको शिलान्यास गरेको बताए। यसको साथै अबको सप्लिमेन्ट्री बजेटमा धनराशी छुटाएर ओलम्पियन जसलाल प्रधानको नाममा बक्सिङ एकाडेमीको निर्माण गरिने पनि मुख्यमन्त्री तामाङले बताए। अस्थायी शिक्षक अनि प्राध्यापकहरूको समस्या पनि सरकारले समाधान गरेको उनले दावी गरे। आजको कार्यक्रमलाई खेल मन्त्री कुङ्गानिमा लेप्चा, सीका अध्यक्ष टीका सुब्बा लगायत अन्यले पनि सम्वोधन गरेका थिए।