गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा नारीशक्ति राज्यस्तरीयद्वारा रानीपुलस्थित एक होटलमा आयोजित तीन दिवसीस एसकेएम नारीशक्ति सम्मेनलको आज समापन भयो। गत ९ जुलाईदेखि शुरू भएको तीन दिवसीय सम्मेलनमा राज्यका छ वटा जिल्लाका नारीशक्तिका सक्रिय कार्यकर्ताहरूले सहभागिता जनाएका थिए। राजनीतिक सुसंस्कृतिक प्रविधिको थिममा आयोजित यस कार्यक्रमको उदघाटन सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेतीले गरेका थिए। आजको समापन कार्यक्रमको पहिलो सत्रमा स्रोतवक्ताकोरूपमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ रहेका थिए भने दोस्रो सत्रमा मुख्य अतिथिकोरूपमा राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चा र सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खालिङले विशेष गरेर नारीशक्तिको संविधानबारे विस्तृतरूपमा अवगत गराए। उनले प्रसङ्ग फेर्दै यदि एसकेएम पार्टी वर्ष २०१९ मा सत्तामा नआएको भए अहिले राज्यमा हिटलरी शासन चल्दै गरेको हुने बताए। एसकेएम पार्टी सत्तामा आएपछि पार्टीका कार्यकर्ताहरूले इञ्जत र सम्मान पाएको अवगत गराउँदै यदि एसकेएम पार्टी सत्तामा नआएको भए धेरै कार्यकर्ताहरू पलायन हुने जानकारी गराए। वर्तमान सरकारले पार्टीका कार्यकर्ताहरूको योगदानलाई ध्यानमा राख्दै सबै कार्यकर्ताहरूको अपेक्षालाई पुरा गर्नको निम्ति दिनरात एक गर्दै काम गरिरहेको बताए। उनले थप जानकारी गराए अनुसार २५ वर्षसम्म सत्तामा बसेर बनकाँडा जस्तो बनेको एसडीएफ पार्टीको सरकारलाई सत्ताचुत गराउन एसकेएम पार्टीका कार्यकर्ताहरूले पुऱ्याएको योगदान मुख्यमन्त्रीको हृदयमा सदैव रहेको र सबैले न्याय पाउने विश्वास दिलाए। पूर्व सरकारले जनतालाई जन्तुकोरपमा हेर्न थालिसकेको खालिङको भनाइ रहेको थियो।

आजको यस कार्यक्रममा पार्टीका कार्यकर्ताहरूलाई लिएर वाकपट्टुता अर्थात भाषण प्रतियोगिताको पनि आयोजना गरिएको थियो, जसमा छ वटा जिल्लाका एक एक जनालाई बोल्नको निम्ति अवसर प्रदान गरिएको थियो।