जनतालाई सर्वोपरि मानेर कार्य गर्नेछौं: अनु प्रधान
खरसाङ: यसपालीको पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङ खण्डको पञ्चायत समितिको लागि बोर्ड गठन गर्ने तय देखिएको छ। समाचार लेखुञ्जेलसम्म पञ्चायत समितिको ३१ वटा सिटहरूमा १९ वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीत हाँसिल गरेको जानकारी प्राप्त भएको छ। खरसाङ खण्डको पञ्चायत समितिमा पार्टीले भारतीय गोर्खा मोर्चाको बोर्डमा अनु प्रधान छेत्रीलाई सभापतिको रूपमा चयन गरिएको घोषणा गरिएको छ। पार्टीले अनु प्रधान छेत्रीलाई पञ्चायत समितिको सभापतिको रूपमा नाम घोषणा गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अनु प्रधान छेत्रीले खुशी व्यक्त गर्दै भनिन् -‘आज हाम्रो जीत भएको छ। यो जीत अनित थापाको सोच, कर्म र सिध्दान्त -‘कर्म नै हाम्रो सिध्दान्त हो’ भन्नेको कुराको जीत भएको छ र यो जीत सम्पूर्ण जनताको जीत हो।’
उनले भने, ‘पञ्चायत समितिको सभापतिको रूपमा मेरो नाम पार्टीले अघि राखेको छ र यो हाम्रो लागि नयाँ कुरा भएकोले हामीलाई पञ्चायत समितिको कार्यमा नयाँ चुनौती हुनेछ। हामी सबै जनताको स्वराजको लागि कार्य गर्नेछौं। जनतालाई सर्वोपरि मानेर कार्य गर्नेछौं। पञ्चायत समितिमा धेरै चुनौतीहरू छन्। तर विस्तारै कार्य गर्दै जानेछौं। जनतालाई अघि राखेर नै कार्य गर्दै जानेछौं।’
खरसाङ खण्डको लागि उप सभापतिको रूपमा को हुनेछ भन्ने प्रश्नको उत्तरमा अनु प्रधानले भनिन् -‘यो उप सभापतिको लागि पार्टीको माथिल्लो तहबाट जे निर्णय हुनेछ त्यही गर्नेछौं। तर चारैतिरको हेरेर चयन गर्नेछौं।’