सिलगढी: फर्जी सेना अधिकारी सालुगढाको एउटा रेस्टुरेन्टबाट सोमबार साँझ भक्तिनगर थाना पुलिसले सेनाको गुप्तचर विभागका अधिकारीहरूसित संयुक्त अभियान चलाएर दिल चन्द बर्मालाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको वास्तविक नाम दिल चन्द बर्मा रहेको साथै तिनी सिक्किमका निवासी हुन् भनी थाहा लागेको छ। तिनले आफूलाई देवेन्द्र कुमार शर्मा सेनाको कर्नल हुँ भनी बताएर विशेष गरेर सेनामा भर्नाको लागि युवाहरूबाट रुपियाँ ठगेको आरोप रहेको छ। तिनी स्थायी रूपमा सिलगढीमा नबसे तापनि कहिलेकाहीँ आउँदा भारतीय सेनाको पोसाक लगा आउने गर्थे। यसै क्रममा गोप्य सूचनाको आधारमा सोमवारी साँझ सिलगढी भक्तिनगर थाना पुलिस अनि त्रिशक्ति कोर्स ३३ गुप्तचर विभाग, सुकुनाको संयुक्त पहलमा अभियान चलाएर उक्त फर्जी कर्नल दिल चन्द बर्मालाई सेनाको पोसाकमै पक्राउ गरेपछि थानामा लगेर केरकार गरिरहेको बताइएको छ।