३० जूनः सिलगढ़ी युनाइटेड फूटबल क्लबको तत्त्वावधानमा खुल्ला (ओपन) अनि भेटरन्स वर्गमा दुईदिने समर फूटसल च्याम्पियनशीप २०२२-को आयोजन गरिनेछ। बिहीवार सिलगढ़ी जर्नलिष्ट क्लबमा आयोजित पत्रकार भेला (प्रेस कन्फ्रेन्स)-मा आयोजक सिलगढ़ी युनाइटेड एफसीका प्रमुख अनिमेश लामाले बताएअनुसार, यस प्रतियोगिताको आयोजनको मुख्य उद्देश्य स्नायु (नर्भ) सम्बन्धित बिमारीसँग जुझिरहेका राजु छेत्रीको उपचार हेतु अर्थ संग्रह गर्नु हो। उपचारमा १५ लाख रुपियाँ खर्च हुने भएकोले सबैलाई अघि आएर सहायताको हात अघि बढ़ाउने उनले आह्वान गरे। आउँदो २ र ३ जुलाईको दिन हुने यस प्रतियोगितामा नर्थ बेंगल स्टार्स र सिक्किम स्टार्सबीच च्यारिटी म्याचको पनि आयोजन गरिनेछ, जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोड़िसकेका दिग्गज खेलाड़ीहरूले हिस्सा लिनेछन्। यसमा सिक्किम स्टार्सको अगुवाई पूर्व भारतीय कप्तान भाइचुङ भूटियाले गर्नेछन् भने नर्थ बेंगल स्टार्स पूर्व राष्ट्रिय स्तरका फूटबलर मनजीत सिंहको अगुवाईमा ओर्लिनेछ।प्रतियोगितामा विजेता र उपविजेता हुने टीमहरूलाई आकर्षक ट्रफीको साथमा नगद पुरस्कार पनि प्रदान गरिनेछ। प्रतियोगिताको आयोजन सालुगढ़ा नजिक रिलायन्स स्टोर पछिल्तिर स्थित वन् शट् फूटसल एरेनामा हुनेछ। यस अवसरमा मुख्य अतिथिको रूपमा दिग्गज फूटबलर भाइचुङ भूटियाको साथमा न्यू लाइट स्कूल (नाम्ची)-का प्रिन्सिपल डा. लोपसाङ लामा उपस्थित रहनेछन्।

आज भएको पत्रकार भेलामा टुर्नामेण्टको आयोजनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सिलगढ़ी युनाइटेड एफसीका संस्थापक सदस्य पेमा लामा, खेलकुद सामग्री निर्माता कम्पनी सिल्को-का प्रमुख खोकन भट्टाचार्य, गौरव भट्टाचार्य, पूर्व फूटबलर मनजीत सिंह, रवि चन्दन र युनिक फाउण्डेशनको तर्फबाट शक्ति पाल पनि उपस्थित थिए। म्याचहरू बिहान ९ बजीदेखि शुरु हुनेछ।










