गान्तोक। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवं मुख्यमन्त्रीको निर्देशनमा पार्टीको नारीशक्तिद्वारा आयोजित तीन दिवसीय सम्मेलनको आज दोस्रो दिन उत्साहजनक रूपमा सम्पन्न भयो।
नारीशक्ति प्रकोष्ठकी राज्यस्तरीय अध्यक्ष कला राईको नेतृत्वमा अनि महासचिव पूजा शर्माको समन्वयमा राजनीतिक सुसांस्कृतिक प्रविधि विषयमा हिजोदेखि शुरु भएको तीन दिवसीय सम्मेलनको आज दोस्रो दिन विभिन्न स्रोत वक्ताहरुले विभिन्न विषयमाथि आफ्नो कुराहरू राखे।
आज दोस्रो दिनको कार्यक्रममा उपस्थित नारीहरुलाई मुख्यमन्त्रीका सल्लाहकार टीएन ढकालले ३७१एफ को प्राविधिक पक्ष अनि यसको महत्वहरुबारे उपस्थिति नारीहरुलाई जानकारी गराए भने अन्य स्रोत वक्ताहरुले समाजमा नारीहरुको भूमिका, जिम्मेवारी अनि नैतिकता अनि स्वास्थ्यबारे आफ्नो विचारहरू राखे।
यसरी नै अर्का स्रोतवक्ताको रूपमा उपस्थित महिला रोग विशेषज्ञ डा. निती नेपालले महिलाहरूमा हुने विभिन्न रोग तथा यसको रोकथाम बारे अवगत गराइन्। यसैगरी मानसिक रोगको उपचार र कुलत सम्बन्धी डा. सतीश रसाईलीले उपस्थित सबैलाई जानकारी दिए। आजको दिनमा युवा नारीहरूमा बस्ने गरेको कुलत र यसको नियन्त्रणमा कसरी काम गर्न सकिन्छ भन्ने बारे उत्कृष्ट रूपमा अवगत गराएका थिए।
अर्का स्रोतवक्ता दिछेन डोमा भोटिया (अधिवक्ता) ले नारी सम्मान र नारी अधिकारमाथि आफ्नो प्रस्तुति राखेकी थिइन्। नारीहरूमाथि हुने गरेका विभिन्न घटना, शोषण र अन्यायबारे उनले उदाहरणसँगै जानकारी दिइन्। उनले नारी अधिकारसँगै बाल अधिकार माथि पनि आफ्नो प्रस्तुतिमा उल्लेख गरेकी थिइन्।
स्मरण गराइन्छ, हिजो ९ जुलाईदेखि आरम्भ भएको यो सम्मेलन भोलि अर्थात् ११ जुलाईको दिन समापन हुने जानकारी एसकेएम प्रचार प्रसार सचिव शितल सोताङ राईले प्रेस विज्ञप्तिमा दिएकी छिन्।