पर्यावरण पर्व २०२३ अन्तर्गत क्योङ्गनोस्लामा विरुवा रोपन कार्यक्रम

IMG-20230711-WA0000.jpg

गान्तोक। वन जङ्गल र पर्यावरण संरक्षणको दिशामा राज्य सरकारको विशेष पहल सिक्किम पर्यावरण पर्व २०२३ अन्तर्गत आज गान्तोक जिल्लामा राजधानी गान्तोक र छाङ्गुबीच जेएन रोडमा पर्ने क्योङ्गन्स्लामा विरुवा रोपन कार्यक्रम सम्पन्न गरियो। राज्य वन विभागको गान्तोक टेरिटोरियल डिभिजनले आयोजना गरेको यस कार्यक्रमलाई विभागको अर्को एउटा महत्वाकांक्षी कार्यक्रम मेरो रुख मेरो सन्ततीसित मिलाएर आयोजना गरिएको थियो। समुन्द्रतलदेखि १० हजार ४ सय फुटको उच्चाइमा अवस्थित क्योङ्गन्स्लामा आज सात जना नवजात शिशुको नाममा लाली गुराँस साथै धुप्पी, चिमल र कपासेका ७ सयवटा विरुवा लगाइयो।

यस अवसरमा वन विभागका गान्तोक टेरिटोरियल डिभिजनका शीर्ष अधिकारीहरूको साथमा वन मन्त्री कर्मा लोडे भोटियाको विशेष उपस्थिति रहेको थियो। यसरी नै सेना र सीमा सड़क सङ्गठनका प्रतिनिधिहरू साथै स्थानीयवासीहरूले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए। पछि एउटा सानो औपचारिक कार्यक्रमबीच सातजना शिशुका अभिभावकलाई वन विभागले मेरो रुख मेरो सन्तती कार्यक्रमको प्रमाणपत्र मन्त्री कर्मा लोडे भोटियाको बाहुलीबाट प्रदान गऱ्यो। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री भोटियाले यस्तै विभिन्न जनचेतना र जनसहभागितामुलक कार्यक्रममार्फत सिक्किमलाई देशको हरित राज्य बनाउने सरकारको लक्ष्य रहेको बताए। यसमा सबै राज्यवासीको सहभागिता आवश्यक रहेको पनि उनले थप बताए।

उल्लेखनीय छ, राज्यमा वन जङ्गल र पर्यावरणको संरक्षण र सम्वर्धन गर्न राज्य सरकारले १ देखि १४ जुलाईसम्म सिक्किम पर्यावरण पर्वको आयोजना गरेको छ। १ जुलाईको दिन मुख्यमन्त्री प्रेम सिंह तामाङले जोरथाङबाट यसको विधिवत शुरुवात गरेका थिए। यस पर्व अवधि वन विभागले राज्यका विभिन्न स्थानमा विविध पर्यावरणमुखी कार्यक्रम आयोजना गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement