गान्तोक: दरामदिन समष्टिका भूतपूर्व जिल्ला पञ्चायत साथै ग्राम पञ्चायत सदस्यहरुसँग क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले ओख्रे स्थित आफ्नो निजी निवासमा भेटघाट गरे। यस भेटघाट कार्यक्रममा मन्त्री शेर्पाले जिल्ला अनि ग्राम पञ्चायतहरूले ग्रामीण जनताको उत्थान र विकासको निम्ति पुऱ्याएको योगदानको खुलेर प्रशंसा गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले सिक्किम अनि यहाँका जनताको कल्याणका लागि व्यापक विकास गर्दै आइरहेको अनि विशेष गरी ग्रामीण स्तरका जनताको पक्षमा रहेर सरकारले सहयोग पुऱ्याएको पनि मन्त्री शेर्पाले आफ्नो सम्बोधनमा बताए।

अब उसो पनि सहयोगको अपेक्षा राख्दै मन्त्रीले गाउँ अनि समाजका लागि मात्र न भएर राज्यकै लागि दरामदिन समष्टिलाई एक ऐतिहासिक अनि उदाहरणीय समष्टि बनाउने विचार प्रकट गरे। भुतपूर्व जिल्ला पञ्चायत साथै ग्राम पञ्चायत सदस्यहरूले पनि यसरी आफूहरूको कार्यकालमा गरेको कामहरुको मुल्यांङकन गर्दै सम्मान गर्न भेटघाट कार्यक्रम राखिएकोमा क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाप्रति हार्दिक कृतज्ञता प्रकट गरे। यस अघि मन्त्री एमएन शेर्पाले समष्टिका विभिन्न विभागबाट सेवानिवृत भएका अधिकारी साथै कर्मचारीहरूसँग पनि भेटघाट गरेका थिए।