सिलगढी: वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाको दोस्रो कृति कविता संग्रह ऐना अघिल्तिर आइतबार दिन सालबारीस्थित बुकान्टमा आयोजित एक भव्य समारोहबिच लोकार्पण गरिएको छ। बुक-आन्टको तत्त्वावधानमा आयोजित यस कार्यक्रमलाई वरिष्ठ साहित्यकार एवं राजनैतिक चिन्तक डी.एस.बम्जनद्वारा अध्यक्षता गरिएको थियो भने प्रमुख अथितिको रूपमा वरिष्ठ कवि भविलाल लामिछाने रहेका थिए। विशिष्ट अतिथिको रूपमा नेपालका वरिष्ठ साहित्यकार भाषाविद प्रा. डा. टङ्क न्यौपाने उपस्थित थिए। कवि सूरज रोसुरीद्वारा खुबै सुन्दर ढङ्गमा सञ्चालन गरिएको समारोहमा नेपाल अनि भारतका धेरै प्रबुद्ध साहित्यकारहरू, ख्यातिप्राप्त लेखक-सर्जकहरू अनि धेरै सङ्ख्यामा साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो। समारोहमा स्वागत सम्बोधन सञ्चालक कवि सुरज गुरुङले राखेका थिए। कृतिकारको परिचय युग्मककार कालुसिंह रनपहेलीले राखे। त्यसपछि समारोह अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, झापा बाट आएका वरिष्ठ साहित्यकार दीपक सुवेदी, प्रसिद्ध सञ्चारकर्मी तथा कञ्चनजङ्घा एफ एम धुलाबारीका कार्यकारी निर्देशक चन्द्र भण्डारी, विद्वान साहित्यकार प्रा. डा. घनश्याम नेपाल, विशिष्ट नाटककार पी. अर्जुन, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्रज्ञा सदस्या सुभद्रा भट्टराई अनि कृतिकार खतिवडाका बाहुलीबाट कविता संग्रह ‘ऐना अघिल्तिर’ लोकार्पण गरियो। कृति लोकार्पणको घोषणा प्रमुख अतिथि कवि भविलाल लामिछानेले गरे। यस अवसरमा प्रा. डा. सञ्जय वान्तवाले कृतिमाथि खुबै गहन समीक्षा राखे। यस अवसरमा प्रा.डा. टङ्क न्यौपानेले भाषा साहित्यमाथि मननीय मन्तव्य राखे। समारोहमा कविहरू मोहन ठकुरी, दीपक सुवेदी, बिष्णु न्यौपाने, योगिता राई, निर्मल सिन्चुरीसहित विभिन्न क्षेत्रका कविहरूले कविता वाचन गरेका थिए। समारोहबिच वरिष्ठ कवि कृतिकार खतिवडालाई सुगन्ध प्रकाशन धुलाबारीबाट सम्झनाको चिनो अर्पण गरियो साथै इन्द्रेणी महिला साहित्यिक मञ्च, मेची नगरबाट सम्मान पत्र प्रदान गरियो भने बुक-आन्ट्का स्वामीद्व्य चर्चित कवि राजा पुनियानी अनि सुरज गुरूङ्बाट बुक-आन्ट्को पक्षबाट कृतिकारलाई प्रमाणपत्र प्रदान गरे। यस अवसरमा समारोहका मुख्य अतिथि, अध्यक्ष अनि कृतिकारले आफ्ना सम्भाषण राखेका थिए। कृतिकार खतिवडाले सम्भाषणमा आफ्नो लेखन यात्राका कुराहरूसितै कृति प्रकाशनका तीता-मीठा अनुभवहरू साझा गरे। उनले भने साहित्य लेखनलाई खुबै गहनतासित लिनुपर्दछ। समारोहमा नेपाल, दार्जीलिङ, खर्साङ, कालेबुङ, मिरिक आदि विविध स्थानहरूबाट सर्जक, साहित्यकार अनि साहित्यानुरागीहरू उपस्थित रहेर समारोहलाई सफल बनाएका थिए।