३० जूनः फ्रेञ्च ओपनमा उपविजेता रहने केस्पर रुड विम्बल्डन टेनिस च्याम्पियनशीपको दोस्रो राउण्डमा हारेर बाहिर भए जबकि ६ पल्टका च्याम्पियन नोवाक जोकोविच चाहिँ तेस्रो राउण्डमा पुग्न सफल भए। फ्रेञ्च ओपनको फाइनलमा स्पेनिश स्टार रफायल नडाल विरुद्ध हारको सम्मुखीन हुने नर्वेका खेलाड़ी रूड यस साल शीर्ष ११ पुरुष खेलाड़ीहरूमा सामेल सातौं यस्ता खेलाड़ी बन्न पुगेका छन् जो शुरुवाती चरणमा हार, चोट, बिमारी र प्रतिबन्धले गर्दा विम्बल्डनबाट बाहिर भएका छन्। रुडलाई फ्रान्सीसी खेलाड़ी यूगो हुम्बर्टले ३-६, ६-२, ७-५, ६-४-ले पराजित गरे। यसबीच ६ पल्टका विम्बल्डन च्याम्पियन सर्बियाका स्टार खेलाड़ी जोकोविचले चाहि सीधा सेटमा जीतको साथ दोस्रो राउण्डको वाधा पार गरे। उनले अष्ट्रेलियाका थानासी कोकिनाकिसलाई ६-१, ६-४, ६-२-ले पराजित गरे। तेस्रो राउण्डमा ३५ वर्षीय जोकोविचको सामना उनकै देशका मिओमिर केकमानोविचसँग हुनेछ। यसबीच पूर्व च्याम्पियन ब्रिटेनका एण्डी मर्रे चाहिँ दोस्रो राउण्डमा बाहिर भए। मर्रेलाई अमेरिकाका जन इस्नरले ६-४, ७-६ (४), ६-७ (३), ६-४-ले पराजित गरे। पहिलो दुई सेट गुमाएपछि मर्रेले तेस्रो सेट जितेर म्याचमा फर्किने संकेत दिए तर चौथो सेटमा इस्नरले असल प्रदर्शन गर्दै तेस्रो राउण्डमा प्रवेश गरे। पुरुष एकलका अन्य म्याचहरूमा पाँचौं वरीयता प्राप्त स्पेनका कार्लोस अल्कराज, नीदरल्याण्डका टिम वेन रिजथोवेन र टमी पाउलले जीत हासिल गरे।

यसबीच महिला एकलमा दोस्रो वरीयता प्राप्त एनेट कोण्टावीट र २०१७-की विम्बल्डन च्याम्पियन गार्बाइन मुगुरुजा हारेर बाहिर भइन्। एस्टोनियाकी कोण्टावीटलाई जर्मन खेलाड़ी जूक नीमेइरले ६-४, ६-०-ले पराजित गरिन्। यसरी नै नवौं वरीयता प्राप्त स्पेनकी मुगुरुजाले ग्रीट मिनेन विरुद्ध ६-४, ५-०-ले हारको सामना गर्नु पऱ्यो। चेक गणराज्यकी क्यारोलिना प्लिसकोवाले टेरेजा मार्तिनकोवालाई ७-६, ७-५-ले पराजित गरिन्। महिला एकलका अन्य म्याचहरूमा ग्रीसका खेलाड़ी मारिया सकारीले बुल्गेरियाकी भिक्टोरिया तमोवालाई ६-४, ६-३-ले पराजित गरिन्। स्लोवेनियाकी काजा जुआनले हंगेरीकी डालमा गाल्फीलाई ७-५, ६-३-ले, ट्यूनिशियाकी ओन्स जेबुअरले पोल्याण्डकी कटार्जीना कवाललाई ६-४, ६-०-ले अनि रोमानियाकी आई बेगूले इटलीकी अलिसबेटा कोकियारेटोलाई ६-४, ६-४-ले पराजित गरिन्। यसबाहेक जर्मनीकी एञ्जलिक कर्बर पनि तेस्रो राउण्डमा पुग्न सफल भइन्।