जेकब खालिङ गरे माङमुमा खण्डस्तरीय पार्टी कार्यालयको उदघाटन

IMG-20230709-WA0366.jpg

गान्तोक: माङ्मु देन्ताम ग्राम पञ्चायतमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको खण्ड स्तरीय पार्टी कार्यालयको उद्घाटन गरियो। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले उक्त कार्यालयको उदघाटन गरे। यस कार्यक्रममा सूचना एवम जनसम्पर्क विभागका सल्लाहकार वीरेन्द्र तामलिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जेकब खालिङले 2019-मा एसकेएम पार्टी राज्यको सत्तामा नआउनु हो भने घमण्डको पराकाष्ठमा पुगिसकेको एसडीएफ सरकारले आज राज्यको स्थिति उत्तर कोरियामा जस्तै तानाशाही शासन हुनेथियो भन्ने विचार पोखे। एसकेएम पार्टीले राज्यलाई त्यस्तो स्थितिबाट जोगाएको खालिङले मन्तव्य पोखे। योसँगै सिक्किमका सम्पूर्ण विपक्षी पार्टीका कार्यकर्ताहरूको शिर ठाड़ो पारिदिएको बताए। सिक्किम मोर्चा पार्टीले मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा सिक्किमको सम्पूर्ण जनतालाई समेट्ने समावेशी कार्य गरेको खालिङले दावी गरे। सत्ता भनेको चै पक्षलाई चेप्ने अनि विपक्षलाई टाढ़ो गर्ने होइन भन्ने एसकेएम पार्टीको नेतृत्वमा रहेको राज्य सरकारले आफ्नो कार्यबाट स्पष्ट सन्देश दिएको उनले मन्तव्य पोखे। मुख्यमन्त्री पीएस गोलेको कुशल नेतृत्वमा राज्य सरकारले सबैलाई समान हक, अधिकार दिने कार्य गरेको खालिङले दावी गरेका छन्। सरकार आफैले कसैलाई घात नगरेको स्पष्ट पार्दै तर पहाड़सँग सिङ जुझाउँदा ती सिङ जुझाउनेहरूको सिङ आफै भाचिएको मात्र हो भन्ने पनि खालिङले बताएका छन्। सरकार आफैले कोही माथि पनि पहिला चाबुक नतेर्साएको खालिङले प्रष्ट पारेका छन्। समावेशी सोंच राखेर सबै जात, सबै धर्म, सबै सम्प्रदायलाई समान सम्मान र इज्जत प्रदान पार्टी एसकेएम रहेको खालिङले बताए। यसको ठीक विपरीत 1994-मा पूर्व मुख्यमन्त्री पवन चामलिङले राज्यमा कीर्ते पर्चामार्फत जात-जातको राजनीति गरेर सरकारमा आएको खालिङले स्मरण गराए। तर 2019-मा एसकेएम पार्टी सिक्किमे जनता एक हौं भन्ने नाराको साथमा सरकारमा आएको जानकारी गराए। आज सिक्किम राज्यको प्रगतिलाई हेरेर केन्द्र सरकारले पनि मुख्यमन्त्री पीएस गोलेलाई धेरै जिम्मेवारी दिने गरेको उल्लेख गर्दै पूर्व मुख्यमन्त्रीको तुलनामा वर्तमान मुख्यमन्त्रीलाई केन्द्र सरकारले धेरै विश्वास गरेको उनले प्रष्ट पारे। यस्तो मुख्यमन्त्री पीएस गोलेले मुख्यमन्त्री नभेटी पनि जनताको काम हुने सिक्किम निर्माण गर्ने कटिबद्धता व्यक्त गरिसकेको खालिङले जानकारी गराए। उनको यो सपना पूरा गर्न प्रत्येक पार्टी कार्यकर्ताहरूले आ-आफ्नो स्तरबाट समर्पित भावले जनहितका कार्य गर्नुपर्ने खालिङले आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement