एसकेएम नारी प्रकोष्ठद्वारा नारी सम्मेलन २०२३ को शुभारम्भ

aa_51

गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नारी प्रकोष्ठले आजदेखि नारी सम्मेलन २०२३ को शुभारम्भ गरेको छ। रानीपुल नजीक सेतीपुलमा आयोजित कार्यक्रमको पहिलो दिनको अवसरमा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा आज चारजना प्रमुख स्रोतवक्ता रहेका थिए जसमध्ये प्रथम स्रोतवक्ता कार्यक्रमका मुख्य अतिथि पनि रहेका पार्टीका सेक्रेटेरी जेनरल अरूण उप्रेतीले नारीहरूको राजनीतिक व्यवहार, कर्तव्य र जिम्मेवारीका बारेमा प्रकाश पारेका थिए। उनले पार्टीको आचार संहिता र पार्टी कार्यकर्ताहरूमा हुनपर्ने गुणबारे जानकारी दिँदै पावर पोइन्ट प्रस्तुति दिएका थिए।

अर्का स्रोतवक्ता राज्य खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटियाले नारी प्रकोष्ठका सदस्यहरूमा हुनुपर्ने अनुशासन र पार्टीको संगठनमा रहेपछि त्यहाँ पालन गरिनुपर्ने अनुशासनमाथि प्रकाश पारेकी थिइन्। कार्यक्रमलाई मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले चार वर्षको अवधिमा एसकेएम सरकारले गरेका उपलब्धी, कार्यक्रम अनि योजनाहरूबारे अवगत गराउँदै प्रस्तुति दिएका थिए। यसरी नै सारिका आत्रेयले पनि आफ्नो कुरा राख्दै सञ्चार कौशल, नारीहरूले वक्तृत्व शक्ति बढाउने उपायमाथि प्रस्तुति दिएकी थिइन्।

उल्लेखनीय छ, यो वृहत सम्मेलन पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेको प्रमुख संरक्षत्वमा आयोजन भइरहेको छ भने आगामी ११ जुलाई, २०२३ को दिन यसको समापन हुने बताइएको छ। कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका नारी कार्यकर्ताहरूले सहभागीता जनाएको जानकारी एसकेएम प्रचार प्रसार सचिव शितल सोताङ राईले प्रेस विज्ञप्तिमा दिएकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement