गान्तोकः नाम्ची कलेजको विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष पदम गुरुङको मृत्युमाथि भइरहेको जाँच कार्य सन्तोषजनक रूपमा अघि नबढेको पूर्व मन्त्री गर्जमान गुरुङले बताएका छन्। जाँच प्रक्रिया सहि ढङ्गमा अघि नबढेका कारण कतै पदमको मृत्युको कारणलाई ढाकछोप गर्ने प्रयास त भइरहेको छैन के भन्ने गर्जमान गुरुङले प्रश्न पनि गरेका छन्।
यसका साथै पदम गुरुङको मृत्यु अप्राकृतिक नभएर उनको हत्या भएको हुनसक्ने गर्जमान गुरुङले आशङ्का व्यक्त गरे। आइतवार पाङथाङ नजिक गोलीटारमा पूर्व विधायक परिसंघले आयोजन गरेको कार्यक्रममा सहभागी बन्नेका पूर्व मन्त्री गर्जमान गुरुङले पत्रकारहरूसँग कुराकानी गर्दै पदम गुरुङलाई नालीले बगाएर मृत्यु भएको भनी पुलिसले दिएको बयानलाई विश्वास गर्ने कुनै आधार नरहेको बताए। जुन नालीले पदम गुरुङलाई बगाएको भनिएको छ त्यसले एउटा कुकुरलाई पनि बगाउने अवस्थाको नरहेको उनले दाबी गरे। जाँच कार्यमा संलग्न पुलिस कर्मचारीमा अनुभवको कमि भएकाले सत्य तथ्य निकाल्न र निस्कर्षमा पुग्न नसकेको गुरुङले बताएका छन्। यस बाहेक जाँच कार्यमा संलग्न पुलिसले दिएको बयानमा शङ्का गर्ने प्रस्सत ठाँउ रहेको उनले दाबी गरे।
सरकारले एसआईटी गठन गरेर जाँच गरिरहेको र आफूहरूले आगामी भानु जयन्तीसम्म प्रतिक्षा गर्ने बताउँदै यस अवधि पनि जाँच प्रक्रिया सहि नभए अघि के गर्ने त्यसबारे निर्णय लिने बताए। पदम गुरुङलाई नालीले बगाएको हो भने पनि त्यसलाई विश्वासगर्न योग्य निशानी हुनुपर्ने थियो भन्दै पूर्व मन्त्री गुरुङले पदम गुरुङको हत्यानै भएको हुनसक्ने आशंका गरेका छन्। पदम गुरुङ तथा उनको परिवारलाई न्याय दिलाउन मुख्यमन्त्री समक्ष पनि गाहार लगाउने बताउँदै पीडित पक्षलाई न्याय दिलाउन सिक्किमेली समाजबाट सहयोग हुनुपर्ने उनले आग्रह गरे।
-हिस