सिलगढी: सिलगढीमा रगत संकटको सामना गर्न श्रेष्ठ वेलफेयर सोसाइटीले आइतबार सोसाइटीको कार्यालयमा रक्तदान शिविरको आयोजना गरेको छ। शिविरमा जिल्लाका धेरैले रक्तदान गरेका थिए। पछिल्ला केही महिनादेखि पूरै उत्तर बंगालमा रगतको संकट छ। यसैलाई मध्यनजर गर्दै आइतबार दिउँसो विवेकानन्द पल्लीस्थित समाजको कार्यालयमा रक्तदान शिविर आयोजना गरिएको हो। यस शिविरमा भारतीय रेडक्रस सोसाइटीको सिलगढी शाखाले सहयोग गरेको छ। शिविरमा विभिन्न उमेर समूहका व्यक्तिले रक्तदान गरेका थिए। यस शिविरबाट सङ्कलन गरिएको रगत सिलगढीस्थित तराई लायन्स ब्लड बैंकलाई दिइने बताइएको छ। अर्कोतर्फ रानीडंगा क्षेत्रस्थित शारदा शिशुतीर्थ विद्यालयमा रक्तदान शिविर आयोजना गरिएको छ। आइतबार विद्यालय परिसरमा रक्तदान शिविरको आयोजना गरिएको थियो। यस रक्तदान शिविरमा पूर्व धनसरा जोत जनकल्याण समितिले सहयोग गरेको थियो।