९ जुलाईः शीर्ष वरीयता प्राप्त कार्लोस अल्काराजको साथमा तेस्रो वरीयता प्राप्त दानिल मेदवेदेवले वर्षाले प्रभावित पुरुष एकल वर्गको तेस्रो राउण्डको म्याचमा जीत हासिल गरी विम्बल्डन टेनिस च्याम्पियनशीपको प्री-क्वार्टर फाइनलमा स्थान बनाए। यी दुईको साथमा पूर्व नम्बर एक खेलाड़ी नोवाक जोकोविच पनि चौथो राउण्डमा पुग्न सफल भए। वर्षाले गर्दा विम्बल्डनको छेटौं दिन पनि म्याचहरू प्रभावित भयो, जहाँ शुरुवाती केही म्याचहरूको मात्र परिणाम आयो। अल ईंग्ल्याण्ड क्लबमा सेण्टर कोर्ट र कोर्ट नम्बर १-मा मात्र छानाको सुविधा रहेको छ, जहाँ वर्षाको अवधि पनि म्याच हुन सक्छ। स्पेनका स्टार खेलाड़ी अल्काराजले सेण्टर कोर्टमा २५औं वरीयता प्राप्त खेलाड़ी निकोल्स जेरीलाई ६-३, ६-७, ६-३, ७-५-ले अनि रुसका खेलाड़ी मेदवेदेवले कोर्ट नम्बर १-मा मार्टन फुस्कोविक्सलाई पहिलो सेट गुमाएपछि ४-६, ६-३, ६-४, ६-४-ले पराजित गरे। यसरी नै पुरुष एकल वर्गमा गत विजेता तथा सातपल्टका च्याम्पियन सर्बियाई दिग्गज खेलाड़ी जोकोविचले तेस्रो राउण्डको म्याचमा तीनपल्टका ग्राण्ड स्ल्याम विजेता स्टेन वावरिंकालाई सीधा सेटमा ६-३, ६-१, ७-६-ले पराजित गरे। यस जीतको साथै २३ पल्टका ग्राण्ड स्ल्याम विजेता जोकोविचको वावरिंका विरुद्ध जीत-हारको रेकर्ड २१-६-को भयो। चौथो राउण्डमा जोकोविचको भिड़न्त पोल्याण्डका हुबर्ट हुर्काजसँग हुनेछ, जसले १४औं वरीयता प्राप्त लोरेञ्जो मुसेटीलाई ७-६, ६-४, ६-४-ले पराजित गरे।
यसरी महिला एकलमा शीर्ष वरीयता प्राप्त इगा स्वियातेकको साथमा बीट्रिज हद्दाद माइया र पेट्रा क्वितोवाले तेस्रो राउण्डको म्याच जितिन्। विश्वकी नम्बर एक खेलाड़ी पोल्याण्डकी स्वियातेकले ३०औं वरीयता प्राप्त पेत्रा मार्टिकलाई ६-२, ७-५-ले पराजित गरिन्। यसरी उनले करियरमा दोस्रोपल्ट विम्बल्डनको प्री-क्वार्टर फाइनलमा स्थान बनाइन्। चारपल्टकी ग्राण्ड स्ल्याम विजेता स्वियातेकले चौथो राउण्डमा १४औं वरीयता प्राप्त बेलिण्डा बेनसिच विरुद्ध खेल्नेछिन्। बेनसिचले मगदा लिनेटेलाई तेस्रो राउण्डमा ६-३, ६-१-ले पराजित गरिन्। यसरी नै ब्राजीलकी हद्दाद माइयाले सोराना क्रिस्टियालाई सजिलैसँग ६-२, ६-२-ले पराजित गरिन्। हद्दा माइयाले यस साल फ्रेञ्च ओपनको सेमिफाइनलमा स्थान बनाएकी थिइन्। यसबीच दुईपल्टकी विम्बल्डन च्याम्पियन पेट्रा क्वितोवाले वर्षाले वाधा पुऱ्याएको म्याचमा नतालिया स्टवानोविकलाई ६-३, ७-५-ले पराजित गरिन्। चेक रिपब्लिककी अनुभवी खेलाड़ीलाई म्याचको दोस्रो सेट जित्न चाहिँ निक्कै लामो प्रतीक्षा गर्नु पऱ्यो।