गान्तोक: पादरी गंगा प्रसाद प्रधानको १७२औं जन्म जयन्ती आज जोरथाङमा पालन गरियो। क्रिस्चियन युथ कम्बाइन्ड फेलोसिपको आयोजनमा सम्पन्न कार्यक्रम जोरथाङ सामुदायिक हलमा मनाइएको हो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए। साथमा उपाध्यक्ष सांगे लेप्चा, पशुपालन विभागीय मन्त्री लोकनाथ शर्मा, क्षेत्र विधायक सुनिता गजमेर, विधायक, सल्लाहकार, अध्यक्ष, राजनीतिक सचिव, वरिष्ठ पास्टर, विभिन्न विभागका एचओडीहरू, गणमान्य व्यक्तिहरू र सदस्यहरू थिए। छ वटै जिल्लाका ईशाई समुदायका अनुयायीहरु उपस्थित थिए।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले सिक्किममा गौरवशाली २५ वर्ष पूरा भएकोमा संस्थालाई शुभकामना व्यक्त गर्दै समृद्ध जीवनको लागि यीशू ख्रीष्टको शिक्षाको महत्त्वलाई जोड दिए। उनले सद्भाव कायम गर्न सामूहिक मानसिकतालाई अंगाल्नु पर्ने बताउँदै सामुदायिक विकासमा जोड दिए। उनले भविष्यमा पनि आफ्ना महान कार्य र अभ्यासहरूद्वारा समाजको संरक्षण गर्ने विशेष गरी युवाहरूप्रति समर्पित सेवाहरू जारी राख्न सदस्यहरूलाई आग्रह गरे। मुख्यमन्त्री तामाङले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा पदाधिकारी, सरोकारवाला र सर्वसाधारणको लगनशीलता र मेहनतका कारण सरकारले प्रगति गर्न सफल भएको बताए। साथै धार्मिक अभ्यासहरू मार्फत प्रेम र खुशी फैलाउन जनतालाई प्रोत्साहन गरे। मुख्यमन्त्रीले राज्यभरका ५० भन्दा बढी मण्डलीले राखेका सबै माग छिट्टै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। थीम गीतसँगै संस्थाको आधिकारिक वेबसाइट पनि सुरु गरिएको थियो।