पाद्री गंगा प्रसाद प्रधानको जन्मजन्ती र सीवाईसीएफको सिल्भर जुब्ली सम्पन्न

si-1

नाम्चीः स्व. पाद्री गंगा प्रसाद प्रधानको १७२औं जन्मजयन्ती र क्रिश्चियन युथ कम्बाइन्ड फेलोशिप (सीवाईसीएफ) को सिल्भर जुब्ली समारोह आज जोरथाङको सामुदायिक हलमा सम्पन्न भयो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा, मन्त्री लोकनाथ शर्मा, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधित गर्दै मुख्यमन्त्री तामाङले २५ साल पूरा गरेकोमा क्रिश्चियन युथ कम्बाइन्ड फेलोशिपलाई बधाई दिए। उनले समृद्ध जीवनका लागि यीशू मसीहको शिक्षाको महत्वमाथि बल दिए। उनले सदस्यहरूलाई आफ्नो समर्पित सेवाहरू, विशेष रूपमा युवामुखी, लाई जारी राख्न आह्वान पनि गरे।

मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा वर्तमान सरकारले शिक्षा, स्वास्थ्य अनि कृषिको क्षेत्रमा धेरै विकास गरेको छ भनी बताए। उनले सम्बन्धित विभागका अधिकारीहरू, हितधारकहरू र राज्यवासीहरूको समर्पण र प्रयासकै कारण यी क्षेत्रहरूमा विकास सम्भव भएको बताए। उनले धार्मिक अभ्यासहरूको माध्यमद्वारा प्रेम अनि खुशीको प्रसार गर्न आह्वान गरे। उनले राज्यका लगभग पचास चर्चहरूले राखेका मागहरू पूरा गर्ने आश्वासन पनि दिए। यस अवसरमा मुख्यमन्त्री लगायत अन्य विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement