मुक्तिनाथ यात्रा

तस्वीर स्रोत: सोसियल मिडिया

कोलकाता बसेको ४७ वर्ष भयो, नेपाली भएको नाताले होला यहाँका बङ्गाली बाबुहरू नेपाल जाने विषयमा मसँग सल्लाह लिन आउँछन्। “आमि तोमार देश मुक्तिनाथ दर्शने जाब बोले अनेकबार चेष्टा करेचि, एबार निश्यै जाब, आमके किन्तु गाइडलाइन दिएदेबे”अथवा “म तेरो देशको मुक्तिनाथ दर्शनमा जान धेरै प्रयास गरेँ यस पटक निश्चित जाने भएँ किन्तु मलाई गाइडलाइन दिनु पर्छ” भनेर मैले कामगरेको कम्पनीका प्रबन्धकले धेरैपटक भनेका थिए। यहाँका अन्य व्यक्तिहरूले पनि त्यस्तै भन्ने गर्थे। आपू नपुगेको ठाउँ थाहा छैन, कसरी उनीहरूलाई बुझाउने? तैपनि जसोतसो गर्दै इन्टरनेटको सहारा लिएर धेरथोर बुझाउने प्रयत्न गर्थें, तर आफैँ भने अनभिज्ञ थिएँ।

के छ मुक्तिनाथमा त्यस्तो हिन्दूधर्मावलम्बी भारतीयहरू यति मन पराउँछन् भन्ने विषय कताकता मनमस्तिष्कमा प्रश्न उब्जिरहने गर्दथ्यो। एकातिर मुक्तिनाथ मुस्ताङ जिल्लमा पर्छ भन्ने सुनेको र पढेको पनि थिएँ भने अर्कोतिर सामान्य ज्ञानमा मनाङ र मुस्ताङ हिमाल पारिका दुइवटा नेपालका जिल्ला हुन भनेर पढेको थिएँ। हिमालभन्दा पारिका जिल्लाहरू कस्ता होलान? के यी तिब्बतको क्षेत्रपट्टि पर्छन? भन्ने प्रश्न सबसमय मनमा उब्जने गर्दथ्यो। कयौँले भन्दथे मुक्तिनाथमा एकातिरबाट तातो पानी र अर्कोतिरबाट चीसोपानी निस्कन्छ। तातो पानीमा नुहाउँदा आथा! पोल्यो, भन्यो भने शरीरको छाला नै खुइलिन्छ रे आदि आदि। अर्कोले भन्दथ्यो त्यहाँ यस्तो ज्वालामुखी प्रकाश निस्कन्छ त्यो कहिल्यै निम्दैन रे।

देख्दाखेरि यो एउटा अनौठो, सभ्य र शालीन समाजको रूपरेखा महसुस हुन्थ्यो। फेरि त्यहाँ अर्को के विशेषता देखिन्थ्यो भने जसको छतमा धेरै दाउराको थुप्रो छ, त्यो व्यक्ति त्यस गाउँको सबैभन्दा धनी मानिदो रहेछ

कैयौँले भन्दथे मुक्तिनाथ, पशुपतिनाथ र स्वयंभूनाथको दर्शन गरेको व्यक्तिले फेरि मर्नु जन्मनु पर्दैन रे, परम मुक्ति प्राप्त गर्छ रे भन्ने पनि सुनेको थिएँ। कयौँले यो हिन्दू र बौद्धावलम्बीहरूको साझा तीर्थस्थल हो भनेर व्याख्या गर्ने गर्दथे। मुक्तिनाथ जाने बाटो जो कालीगण्डकीको तिरैतिर जानु पर्छ त्यहाँ असंख्य काला ढुङ्गाहरू पाइन्छन् जसलाई हामीले सालिग्राम भनेर पुज्ने गर्दछौँ, ती भगवान विष्णुका अवशेषहरू हुन् भनेर कैयौँले व्याख्या गर्दथे। कसैले भन्दथे सतीले जव दक्ष प्रजापतिको यज्ञमा हाम फालेर आफ्नो देहत्याग गरिन, त्यतिबेला महादेवले मृत सतीको शरीर बोकेर हिँड्दा १०८ स्थानमा अङ्ग पतन भएको थियो, जुनजुन ठाउँमा शरीरको अङ्ग पतन भयो ती सबै स्थान एक एक शक्तिपीठको नामले प्रशिद्ध भए र त्यसै मध्येको १०६टौँ शक्तिपीठमा मुक्तिनाथ अथवा मुक्तिक्षेत्र भयो भन्ने कथन पनि सुनेको थिएँ।

मुक्तिनाथ जानलाई बडो जोखिमपूर्ण बाटो छ अत्यन्त सावधानिपूर्वक जानु पर्ने हुन्छ। धेरै ठाउँमा हिँड्नु पर्ने हुन्छ र कतिपय स्थानमा घोडाको सहारामा जानु पर्ने हुन्छ भन्ने जस्ता कुरा पनि सुनेको थिएँ। मुक्तिनाथ पुग्नभन्दा अलि अगाडि कागबेनी भन्ने नदी पर्दछ, त्यहाँ बसेर श्राद्ध गर्यो भने मोक्षप्राप्त नगरेका सबै पितृहरूले मोक्षप्राप्त गर्छन् रे अनि आफू पनि पितृऋणबाट मुक्ति हुन्छ रे भन्ने सुनेको थिएँ। म नेपालको काभ्रे जिल्लामा जन्मेँ त्यहीँ आमाको काखमा खेली खाई ठूलो भएँ, त्यहीँको चिसो हावा र हिमाली वातवरणमा म हुर्कें। तिनै आमाले म जन्मदाखेरि प्रयोग गरेका वाणी र भाषा म आज पनि बोलिरहेको छु भने मेरो देशका त्यस्ता महत्त्वपूर्ण मानिएका क्षेत्रहरू कहिले अवलोकन गर्ने होला? भन्ने सोच समयसमयमा जाग्रित हुने गर्दथ्यो।

एक समय आफूले अध्ययन गर्नुपर्ने वाध्यता थियो भने, साथै परिवारिक जीविकाको उपार्जन र बच्चाहरूलाई शिक्षादीक्षाको लागि समय र आर्थिकका पाटाहरूमा त्यत्तिकै ध्यानदिनु पर्ने हुन्थ्यो। यी सब अप्ठ्याराहरूले गर्दा आफ्नै देशभित्र रहेका, अनमोल प्राकृतिक सम्पदाहरू हेर्ने, बुझ्ने र मनन गर्ने मौकै पनि भएन। घर जानु पर्दा कोलकाता, काठमाडौं र काभ्रे, फेरि फिर्ता त्यसै गरी, अन्य क्षेत्र पोखरा र लुम्बिनीबाहेक केही हेरेको छैन। लामो समय भारतमा बसेर आफ्नो कर्तव्य पालन गरे तापनि आफ्नो अस्तित्व त्यहाँ छ। त्यो मातृभूमिको महत्व कहिले जान्ने र बुझ्ने होला? भन्ने चिन्तन मस्तिष्कमा सबसमय प्रश्नको रूपमा उब्जने गर्दथ्यो। २०७५को वैशाखमा काठमाडौँमा बसेर केही कामहरू गर्नु पर्ने थियो, म बानेश्वरको शान्तिनगर इलाकामा भदाहासालो दिनेश घोरसाइनीको घरमा बसेको थिएँ। त्यहाँ मलाई रहन, खान र ल्यापटपमा बसेर काम गर्न सुविधा थियो। दिनेशको भाइ उमेशको ल्यापटप थियो, मलाई जतिबेला भन्यो त्यतिबेलै उसले व्यवस्था मिलाइदिन्थ्यो।

भारतबाट नेपाल फोन गर्दा लाग्ने महसुल धेरै भयो, यसलाई घटाइदिनु पर्यो भन्ने माग राख्दै हामी प्रनेसंघ भारतका साथीहरू मिलेर सूचना तथा प्राविधि मन्त्री गोकुलप्रसाद बासकोटाज्यूलाई एउटा ज्ञापनपत्र बुझाउनको लागि म र कृष्ण पालुवा बसेर त्यसको तयारी गरिरहेका थियौँ। यो पत्र बुझाइसकेपछि मुक्तिनाथ यात्रा गर्ने सोच बनाएर दिनेशलाई कुनै ‘प्याकेज टुर’पत्ता गर्न भनेको थिएँ। उसले चिनेको एउटा गौतम ट्राभल्स एजेन्सीको सम्पर्क दिदै “भिनाजु मैले गौतमसँग कुरा गरिसकेको छु, तपाईंले यसलाई फोन गरेर कन्फर्म गर्नु होला” भन्दै फोन नम्बर नोट गरायो। मैले उसलाई सम्पर्क गर्दै २१ अप्रेल २०१८ को काठमाडौंबाट निस्कने आफ्नो योजना बताएँ। उसले चार रात र पाँच दिनको यात्राहुन्छ, जहाँबाट उठाइन्छ त्यहीँ ल्याएर छाडिदिने गरिन्छ, खाना, बस्न र घुम्न लगायतको रु.१५,००० लाग्छ भन्ने जानकारी गरेपछि मैले पैसा कहाँ कसरी बुझाउने? भनेर सोधेँ। सालो भाइकै कारणले होला, उसले मलाई विश्वासको साथ गाडीमा बसेपछि त्यहीँ पैसा दिएहुन्छ भन्ने उत्तर दियो।

यसबीचमा अनामनगर घट्टेकुलोको छेउेमा बस्नुहुने नेपालवाणी सप्ताहिकका सम्पादक दाइ रामचन्द्र हुमागाईसँग फोनमा कुरा भएको थियो। दाइ पञ्चायतकाल देखि नै बडो संघर्षशील हुनुहुन्थ्यो। उहाँले राजा वीरेन्द्रको पालामा पाकिस्तानी राष्ट्रपति जियाउल हक नेपाल जाँदा “एउटा तानाशाहले अर्को तानाशाहा बोलायो”भनेर नेपालवाणी सप्ताहिकमा लेख्नु भएकाले छ महिना जेल पर्नु भएको थियो।  मैले मुक्तिनाथ जाने योजना सुनाउँदा उहाँले पनि सँगैजाने कुरा राख्नु भएको थियो। त्यसैअनुसार मैले त्यो ट्राभल्स्लाई अर्को एकजनाको पनि सिट व्यवस्था गर्न भनेको थिएँ र उसले हुन्छ भन्ने जानकारी गरेको थियो। हामीलाई २१ अप्रेलको दिन ज्ञापनपत्र बुझाउनको लागि माननीय मन्त्री गोकुलप्रसाद बासकोटाले प्रधानमन्त्री केपी ओलीज्यूको पूर्वनिवास बालकोटको घरमा बोलाउनु भएको थियो। हामी ३ बजेबाट उहाँलाई कुरेर बसेका थियौँ, उहाँले काभ्रेको कुनै कार्यक्रम सकेर पाँचबजे हामीहरूसँग भेट गर्नुभयो। हामीले आफ्ना दुःखेसाहरू व्यक्त गर्दै लोकनाथ भण्डारी, सीता अधिकारी, कृष्ण पालुवा, हरि घिमिरे, म र गोपाल थापाको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाउने काम गर्यो।

त्यहाँबाट फर्केपछि बसबाट ओर्लनुभन्दा पहिले साथीहरूसँग बिदा लिँदै आफ्नो भोलिबाट मुक्तिनाथ यात्रा आरम्भ हुने जानकारी गरेँ। यसै प्रसङ्गमा साथिहरूले उहाँहरूको तर्फबाट पनि मुक्तिनाथ मन्दिरमा चढाइदिनको लागि गोपाल थापा, हरि घिमिरे, सीता अधिकारी, लोकनाथ भण्डारी र कृष्ण पालुवाले दक्षिणा दिनुभयो। पछि मैले मन्दिरमा जस्ताकोतस्तै सबैको नाम र रकम लेखेर एकमुष्ट चढाएको थिएँ। २२ अप्रेल बिहान ५.३० बजे म घरबाट निस्केर नयाँ बानेश्वर शान्तिनगर लायन्स् क्लबको उल्टोपट्टि आफ्नो सामानसहितको झोला बोकेर उभिएको थिएँ। उताबाट एउटा स्कर्पिओ आएर रोकिन्छ, मुक्तिनाथको लागि हो? भनेर मैले सोधेँ। “हो, तपाईंसँगको अर्को व्यक्ति खोइ त? ”भनेर चालकको छेउमा बसेको व्यक्तिले सोधे। रामचन्द्र दाइले बानेश्वरको एभरेष्ट बैँकको छेउबाट उठ्ने कुरा गर्नु भएको थियो, मैले त्यही जानकारी गराएँ। बिहानको शीतलमा स्कर्पिओ सललल्ल अघिबढ्यो र त्यँही गएर रोकियो। देखेँ रामचन्द्र दाइ हुनुहुन्थ्यो, मलाई हेर्दै उहाँ पनि उठ्नु भयो।

त्यहाँबाट फेरि उत्तर हानिदै हामी बौद्धजोरपाटि पुग्यौँ, मगर समुदायका एक परिवारले चारवटा सिट बुक गरेका रहेछन्। तीनजना त्यहाँबाट र एकजना बीचबाटो जोगीमाराबाट उठ्ने जानकारी गरिएको रहेछ। हामीले बालाजुको छेउमा आएर आफ्नो पैसा बुझायौँ अनि चालक रिपेश बस्नेतले गाडीलाई भित्रिबाटो हुँदै थानकोटको डाँडो पार गर्दै खानीखोलापट्टि ओराले। रामचन्द्र दाइ साह्रै रसिला र मीठा गफ गर्नु हुन्थ्यो। कहिले मगर्नी आमासँग त कहिले भाइ काजी भन्दै चालक बस्नेतसँग। यत्तिकैमा हामी जोगीमारा पुग्यौँ। मास्तिरबाट एकजना बूढा हतारहतार गर्दै खुर्मुरिँदै झरेको देख्यौँ। “ऊ, आयो आयो”भन्दैथिए गाडीमा बसेका उनैका परिवारहरू। चालकले पाँच मिनेट गाडी रोक्दा अगाडिपट्टिका चारवटा दाँत फुक्लेका थोते देखिने श्यामवर्णका मगरबूढा हास्तैहास्तै कस्सिएर त्यहाँ आइपुगे र गाडीमा बसे। चालकले आफ्नो गतिमा स्कर्पिओ हाँक्यो।

हामीलाई सरासरी कुरिनटारको मनोकामना जाने केबिलकार स्टेसनको नजिकै पूर्वपट्टि एउटा थकाली होटलको अगाडि लगेर गाडी पार्क गर्दै खानाको लागि अनुरोध गरे। हाम्रो प्याकेजमा बिहानको खाना शाकाहारी रहेछ र बेलुकाको मासाहारी। रामचन्द्र दाइले दही राख्न लगाउनु भयो र मैले खसीको मासु। दही र मासुको छुट्टै पैसा हामीले तिर्यौँ। त्यसपछि चालकले गाडी घुँइक्याए, हामी नदीका किनाराबाट वारिपारिका दृश्यहरू अवलोकन गर्दै आनन्दसाथ अढाई बजे लेखनाथ महानगर पालिका प्रवेश गर्यौँ। बाटोमा रामचन्द्र दाइले, कहिले बौद्धिक, कहिले राजनीतिक त कहिले व्यङ्ग्यात्मक खाले आनन्ददायक प्रसङ्ग झिकेर हामीलाई व्यस्त राख्नु हुन्थ्यो। मगर परिवारले प्रथम उहाँका अभिव्यक्तलाई बुझ्न अलि अप्ठ्यारो मानेजस्तो लाग्दथ्यो, त्यसपछि उनीहरूले पनि प्रतिसपर्धा गर्न थाले। दाइ मगरनी आमोईलाई व्यङ्ग्य गरेर भन्दै हुनुहुन्थ्यो “तपार्इंले यो बूढोलाई किन यति माया गरेर राखेको? घर भिरमै रहेछ यसो घचेटिदिएको भए तपाईंको धेरै कुराको बचत हुन्थ्यो।” त्यसको प्रतिउत्तरमा थोते मगरबूढा पाखुरा सुर्केर भन्दैथिए “तिमीहरूजस्ता छट्टुले गर्दा मेरो उमेर भएर पनि वृद्धभत्ता पाउँन सकिन”भनेर आँखा पल्टाउदै थिए। अनि वृद्धभत्ता किन नपाएको त भनेर सोध्दा उनी भन्दै थिए “बहुदल आएपछिको चुनावमा कम्युनिष्टहरू सत्तामा आएभने साठीवर्ष उमेर पुगेकालाई गोली ठोकेर मार्छन् भने, अनि मरिन्छ भन्ने डरले मैले आफ्नो उमेर बाह वर्ष कमाएर नागरिकता प्रमाणपत्र बनाएँ, ऐले वृद्धभत्ता लिन जाँदा नागरिकता हेरेर तिम्रो वृद्धभत्ता पाउने उमेर नै भएको छैन भन्छ बा!” भनेर दाइलाई थर्काउँदै “यो तिमीहरूजस्ता धूर्तहरूले नै प्रचार गरेका थियौ, यसको ठीक गर्न पनि तिमीहरू नै सक्छौ, कसरी पाउने हो मलाई अब वृद्धभत्ता चाहियो” भन्दै उनी दाइसँग बाटाभरि छुत्ति खेलिरहेका थिए, हामीले भने आनन्द लिइरहेका थियौँ।

हामी दिनको दुई बजे लेखनाथ महानगर पालिकाको स्वागतद्वारबाट भित्र पस्यौँ। हाम्रो बस्ने होटेल लेकसाइडमा थियो तर चालकले सोझै जापानले बनाइदिएको विश्वशान्ति स्तुपपट्टि उकालो लगाए। गाडी पार्क गरेपछि एक किलोमिटर उकालो हिँडेर जानुपर्दो रहेछ। बिस्तारै ढुङ्गा र सिमेन्टले निर्माण गरेका खुड्किला उक्लिँदै हामी जापानले बनाइदिएको भगवान गौतम बुद्धको विश्वशान्ति स्तुप परिसर पुग्यौँ। अति सफा–सुग्घर, साह्रै शान्त वातावरण, विभिन्न प्रकारका फूल र वनस्पति झारहहरूले सुसज्जित बगैँचा, फेवाताल र पोखराको सम्पूर्ण दृश्यावलोकन गर्न सकिने अवस्था, बीचबीचमा बस्नको निम्ति बेन्चहरूको व्यवस्था रहेछ। हामीले त्यहाँ विभिन्न कोणबाट मोबाइलमा फोटाहरू खिच्यौँ, रिसोर्टमा बसेर लस्सी पियौँ। अमिताभ बच्चनको “जीवनचक्र” त्यहीँ छायाँचित्रण गरिएको थियो भन्ने जानकारी पाइयो हो वा होइन थाहा भएन। त्यहाँबाट फेवातालको रमणीय सुन्दरता हेर्दैहेर्दै, केही समय तालको तिरमा बसेर व्यतीत गर्दै, बेलुका छ बजे हामी होटल म्यान्गोलियामा रहनको लागि पुग्यौँ। फेवातालभन्दा अलि उत्तरपट्टि हामीले तिरेको रकमानुसार सुन्दर, सफा होटल रहेछ म्यान्गोलिया। रातिको खाना “बुफेट् सिस्टम”मा लगभग ८ बजेतिर आरम्भ हुँदो रहेछ। खानामा भात, रोटी, सलाड, मिसावट सब्जी, दाल, पनिर, कुखुराको मासु र पापड् थिए। आआफ्नो इच्छानुसार सबैले लिदैगए।

हामी २३ अप्रेल २०१८ को दिन बिहानको खाजा चिया लिएपछि होटेलबाट निस्केर पहिला बिन्दवासिनी मन्दिर दर्शन गर्यौं र त्यसपछि सारङकोट हुँदै पर्वततिर उकालो लाग्यौँ। गलेश्वर महादेवको मन्दिरसम्मको बाटो राम्रै पिच गरेको रहेछ, त्यहाँबाट अगाडि लगभग १०० किलोमिटर कागबेनीसम्मको बाटो सबै कच्चा र अस्जिलो रहेछ। हाम्रो चालक रिपेश बस्नेत बडो होसियारपूर्वक गाडी चलाइरहेका थिए। त्यो स्कर्पिओ उनको आफ्नै रहेछ। दुई वर्षअघि पचपन्न लाखमा किनेका रहेछन् र ऐले त्यसको पैसा उठिसक्न लाग्यो भन्दै थिए। काली गण्डकीको तिरैतिर गएको बाटो ठाउँठाउँमा फराकिलो गर्न जेसिपिले माटो फ्याकिरहेको देखिन्थ्यो। विशाल एयरपोर्ट जस्तो देखिने खरानी रङ्गको काली गण्डकीको बगर, कतै एउटा छेउबाट बगेको पानी लामो नीलो फरियाको धर्को जस्तो देखिन्थ्यो। केहीकेही ठाउँमा बाटो बनिरहेको हुँदा खोलामा ओरालेर त्यसै बगरमाथि चालकले उच्च गतिमा गाडी कुदाइरहन्थे। शुरुवातमा हामीलाई पश्चिमतिर गएको महसुस भए तापनि क्रमशः नदीको शिर उत्तरपूर्वतिर लागेको बुझिन्थ्यो। हेर्दाहेर्दै हामीले पोखराबाट उत्तरमा हेर्ने गरेको हिमाल त दक्षिणतिरपो देखिन थाल्यो। मैले अहिले यहाँ आइपुगेपछि बुझेँ हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गरेछौँ भन्ने। यो रोमाञ्चकारी दृश्यले मनलाई अति आनन्दित बनाइरहेको थियो।

हामी करिबन चारबजे मुस्ताङको सदरमुकाम जोमसोम पुग्यौँ। एयरपोर्टकै छेउमा होटेल म्याजेस्टिकमा हाम्रो बस्ने र खाने व्यवस्था रहेछ, त्यहीँ गएर रामचन्द्र दाइ र मैले एउटै कोठामा सामान राख्यौँ, सरसफाइ हुँदै चिया पियौँ। म थोरै समय बाहिर घुम्न निस्केको थिएँ, जोमसोम बजारको, छेउमै गाडीचल्ने बाटो आकारको स्यानु एयरपोर्ट रहेछ। त्यहाँ जाने हवाइजहाज बिहान ११ बजेसम्ममा फर्किसक्दो रहेछ किनकी त्यसपछि हावाहुरीले चलाउन जोखिम बन्छ रे। वारिपारि बरफले ढाकिएका सेता हिमालका चुचुरा, नदीका छेउछाउतिर केही बोटवृक्ष भए तापनि मास्तिर सबै मरुभूमि जस्तो देखिन्थ्यो। क्याराभ्यान नामको अङ्ग्रेजी सिनेमा त्यहीँ अलिमाथि सुटिङ्ग भएको भन्ने कुरा सुनिथ्यो। म धौलागिरी बोर्डिङ्ग स्कुलसम्म पुग्दा जाडोले टिक्न नसकेर फर्कें र होटेलमा आएँ। भएभरका कपडा लगाउँदा पनि हामी जाडोले कठ्याङ्ग्रिएका थियौँ, केहीछिनपछि अर्को चिया भन्यौँ, प्याकेजभन्दा बाहिर पर्ने भएकाले दुई सय प्रतिकप तिर्नु पर्दो रहेछ। रातको भोजनभन्दाअघि दाजुभाइले दुईदुई कप थप चिया पिएछौँ, होटेलवालाले थप चियाको मात्रै आठसय लियो।

२४ अप्रेलको दिन बिहान साँढे छ बजे नै, चियाखाजा खाएर गाडीमा बस्यौँ, आठबजे कागबेनी पुग्यौँ। हामीले पहिले सुनेजस्तै कैयौँ पितृहरूमा आस्था राख्ने व्यक्तिहरूले श्राद्ध गर्दा रहेछन्। नदी किनारामा परेवाका बथानहरू थिए, मैले चामल किनेर परेवाहरूलाई खान दिएँ र पितृहरूको सम्झनामा एक मिनेट मौन धारण गरेँ अनि त्यहाँबाट हामी हिड्यौँ। कागबेनीबाट मुक्तिनाथ पुग्ने बाटो ११ किलोमिटर रहेछ। त्यहाँ भन्दा अघिको बाटो पिच गरेको थियो, गाडी सजिलैसँग गयो, चालकले पार्किङ्गमा ग्यारेज गर्दै बाँकी डेढ किलोमिटर मास्तिर हिँडेर अथवा घोडामा जान भने। हामी ओर्लनेसाथ घोडावालाहरू आएर झम्टँदै थिए, घोडा नलिई मुक्तिनाथ मन्दिरसम्म हिँडेर जाने सोच हाम्रो बनिसकेको थियो। अलि अगाडि जाँदा एक दुई जना टाउकोमा चक्कर आयो भन्दै बसेको देख्यौँ। एकजना महिला निकै कष्टमा रहेको देखेर दाइले प्याज छोडाएर सुघ्न र खान भन्नु भयो। उहाँले माथि लेक लाग्न सक्छ भनेर पोखरा देखि नै साथमा दुई तीनवटा प्याज लिइराख्नु भएको थियो। हामीलाई त्यस्तो आवश्यकता देखिएन गफ गर्दै उकालो लाग्यौँ।

केही वृद्ध महिला–पुरुष, कोई सोखिन्दारहरू घोडामा सवार गरिरहेका थिए। अधिकांश पर्यटकहरू भारतीय देखिन्थे, दोस्रो संख्या नेपालीको थियो भने अरु विभिन्न देशका हुन् भन्ने अनुमान गर्न सकिन्थ्यो। घाम झलमल्ल लागेको, हामीलाई मौसमले पनि राम्रो साथ दिइरहेको थियो। यो स्थान करिब तेह्र सय फिट उच्चाइमा पर्दो रहेछ। हामी मन्दिर पुग्दा नौ बज्यो, अलि तल एउटा कुण्ड र मन्दिरको मास्तिर १०८ वटा धारा रहेछन्। कसैले नुहाउँदा रहेछन्, चीसोको कारण धेरैजसो व्यक्तिहरू पानी अचाएर शिरतिर छर्कंदै हिँड्दा रहेछन्। एकछिन आराम गरेपछि दाइले त्यो चिसो पानीमा नुहाउने असमर्थता जाहेर गर्नुभयो। मैले जे पर्ला नुहाउनु पर्यो भन्ने सोचले अगि सरेर पहिलो धाराबाट शुरु गर्दै दौडेर १०८ वटै धारा पुरा गरेँ। शुरुमा चीसोले कम्पन दिए तापनि बिस्तारै शरीर तातो र प्रफुल्ल बन्दै गयो। मुक्तिनाथ (नारायण) मूर्तिको दर्शन गर्ने ठाउँमा पुगेर हेर्दा दुईजना शेर्पा समुदायको महिला पूजारीहरूले पूजा गरिरहनु भएको थियो। मैले आफूलगायत साथीहरूको दिएको दक्षिणा समेत भगवानलाई समर्पण गर्दै त्यहाँबाट बिदा भएँ।

फर्कने क्रममा हेर्दा अलि तल हेलिकप्टर राख्ने सानैखाले गोलाकारको मैदान रहेछ, बायाँपट्टि भगवान बुद्धको विशाल प्रतिमा र त्यसैको पच्चिस फिट अगाडि सत्तलजस्तो देखिने घरको भित्र ज्वालामुखि देखिन्छ भन्दा रहेछन्। त्यहाँ भित्र रातमा जुनकिरी टल्केझैँ टल्किने, पिल्पिले आगो जस्तो उज्यालो देखिँदो रहेछ। त्यसको माथि फलामे जालिले हात पस्न नसक्ने गरी छेकिएको थियो। यही हो ज्वालामुखि भनेर हामीलाई बुझाउने काम गरे। यो सबै दृश्यावलोकन गर्दै हामी गाडी राखेको ठाउँतिर  फक्र्यौं। त्यहाँ बस्ने होटेल–लजहरू थिए, पर्यटकभन्दाबाहेक स्रोत खासै त्यस्तो केही देखिँदैनथ्यो। याक, भेडा र स्याउको धेरथोर उत्पादन रहेछ। स्थानीय उनिका उत्पादन ताँतमा बनिरहेको र स्याउका सुकुटी जताततै बेचेको देखिन्थ्यो। मन्दिरबाट पाँच किलेमिटर ओरालो झरेर ११.३० बजे हामी खिङ्गा सुइटड्रिम थकाली होटल पुग्यौँ। त्यहाँ पहिले नैजाने बेलामा चालकले खानाको अर्डर गरेका थिए। खाना साकाहारी भए तापनि थकाली परिवेशमा सजाइएका पितलका करुवा, गिलास, बटुका, चरेसका थाल, र स्वादिष्ट खानाका परिकारहरू थिए।

हामी अन्य कतै नरोकिँदै सरासर १.३० बजे जोमसोम र २.३० बजे मार्फा बजार आइपुग्यौँ। हाम्रो त्यसदिन त्यहीँ बस्ने व्यवस्था गरिएको रहेछ। मार्फाको नाम धेरै पटक सुनेको थिएँ, सामान लजमा राखेर रिपेशको साथ म घुम्न निस्केँ। त्यो बजार पूरै थकाली शेरचनहरूको बाहुल्यता भएको ठाउँ रहेछ। त्यहाँ मैले ती महान कवि भूपी शेरचनलाई सम्झन पुगेँ। बजारको पल्लोछेउबाट मानिस हिँडेर धौलागिरी उँभो लाग्ने बाटो रहेछ। बीच बजारको माथिल्लो भागमा चीन र जापानको सहयोगमा निर्मित बौद्धगुम्बा रहेछ। त्यहाँ लामाहरूका दुर्लव तिब्बती ग्रन्थहरू पनि रहेछन्। त्यस गुम्बाको आगनबाट मैले पूरै मार्फा बजार नियालेर हेरेँ। त्यहाँको समाज, ती व्यक्तिहरूको आपसी रहनसहन, एउटा कुनै विशेष प्रकारको भएको महसुस हुन्थ्यो। त्यहाँ बनाइएका घरहरू ढुङ्गा र माटोको मात्र प्रयोग भएको थियो तर ती आधुनिक सिमेन्ट र रड हालेर बनाएभन्दा कम देखिदैनथे। भिरालो परेको ठाउँमा तल एक जनाले घर बनाएर छत ढलाई गर्छ, त्यो छतलाई पछि माथि घर बनाउँने अर्को व्यक्तिले आगनको रूपमा प्रयोग गर्छ। उसले त्यसै गरी छत ढलाई गर्छ अर्कोले त्यसलाई आगन बनाउँछ। क्रमशः यसै गरी विशाल गाउँ नै तयार गरिएको रहेछ। देख्दाखेरि यो एउटा अनौठो, सभ्य र शालीन समाजको रूपरेखा महसुस हुन्थ्यो। फेरि त्यहाँ अर्को के विशेषता देखिन्थ्यो भने जसको छतमा धेरै दाउराको थुप्रो छ, त्यो व्यक्ति त्यस गाउँको सबैभन्दा धनी मानिदो रहेछ।

मार्फा क्षेत्र आर्थिकरूपमा पनि सफल रहेछ। फल पूmलमा स्याउ, आरु, ओखर, एप्रिको, टिमुर, तरकारीहरू आलु, विभिन्न प्रकारका साग सब्जी, जौ, नियालो, बाँस, धुपी, आदि चिजहरूको राम्रो उत्पादन हुँदो रहेछ। स्याउबाट तयारी विभिन्न प्रकारका जुस र रक्सीहरू घरघर र कारखानामा समान रूपले निर्माण गरिँदो रहेछ। यहाँ तल रक्सीको डिस्टिलरीमा निर्मित केही वाइन र ब्राण्डीहरू निर्यात पनि गरिँदो रहेछ। बजारभन्दा एक किलोमिटर तल सरकारी कृषि फार्म जहाँ हरप्रकारका कृषि उत्पादनको परीक्षण र प्रयोग गरिँदो रहेछ। मार्फाको बजार व्यवसायमा अधिकांश महिलाहरू नै भेटिन्थे चाहे होटल व्यवसायी हुन् या अन्य। यिनीहरूमा आफ्ना ग्राहकहरूलाई कसरी आकर्षण गर्नुपर्छ भन्ने व्यवसायी ज्ञान प्रष्ट देखिन्थ्यो। मुसुक्क हाँसेर व्यक्तिहरूसँग ग्राहकीय व्यवहार गर्ने, नरिसाइकन विनम्र तरिकाले बोल्ने, आफ्नो कर्मक्षेत्रलाई सरसफाइ र सुन्दरताको परिचय दिने, लगानीमा पहिला फाइदा हेर्नेभन्दा पनि उद्देश्य पूरा गर्ने हिसाबले काम गर्ने, पुरुषहरूले पनि आफ्ना महिलाहरूमाथि कुनै सन्देह नराख्ने आदि कारणले गर्दा यो समुदाय अघि बढेको देखिन्छ।

२५ अप्रेल २०१८ को बिहान ५ बजे हामी मार्फाबाट बेनीतर्फ निस्कियौँ। रोड विभागले काम गरिरहेको हुँदा बिहान ७.३० बजेबाट ११.०० बजेसम्म बीच बाटोमा गाडी ओहोर दोहोर गर्न नदिने रहेछ। हामी त्यो भन्दा पहिले नै बाटो छिचोल्नेभन्दै गाडी खुब कुदाउँन लगायौँ। त्यसैको बीचमा तातो पानी पर्दोरहेछ। त्यहाँ तीर्थालुहरूले नुहाउनु पर्छ भन्ने मान्यता राख्दा रहेछन्। चालकले “तपार्इंहरू नुहाउन के गर्नुहुन्छ?” भन्ने सोधनी गरेका थिए। यसो ओर्लेर हेरेको त त्यो तातो पानी निस्कने ठाउँकै छेउमा रहेको नुहाउने व्यवस्थापन भएको भवनको छतमा सोलार प्यानेल सेट गरेको गिजर देखेँ। हुनसक्छ त्यो अन्य कामको लागि थियो होला, तर मेरो विश्वास त्यहीँ समाप्त भयो र मैले ननुहाउने निर्णय गरेँ,  साथीहरूले पनि ननुहाउने चाँडै जाने भन्नु भयो। हामी त्यहाँ खासै अल्मल नगरिकन निस्क्यौँ।

हामीले चालकलाई जति जोड लगाए तापनि बाटो निर्माणको क्षेत्र पार गरेर बेनी बजार छिचोल्न सकेनौँ। बिहानको ७.३० बजे तिब्ल्याङ्गमा अएपछि गाडी रोकियो, तीनघण्टा त्यहीँ कुरेर बस्यौँ अनि गाडी छोड्यो, एघार बजे हामी म्याग्दिको गलेश्वर धाममा आइपुग्यौँ। त्यहाँ हामीले महादेवको मन्दिर, बहुद्देश्य सत्सँग भवन, सशुल्क यात्री निवास र त्यहाँको बजार हेर्दै अलि अगाडि गौचनको रिसोर्टमा आयौँ।

त्यहाँ जाँदा अस्तिको दिन पनि हामीले खाना खाएर गएका थियौँ र आज पनि त्यहीँ खाना खाने भनेर आइपुग्यौँ। कालीगण्डकीको किनारमै रहेको, देख्दा सामान्य घर जस्तो, पहिलेई जानकारी गरेपछि एकदम घरको जस्तो खाना बनाएर राखिदिने, तातो भात, दाल, साग, सिन्की या गुन्द्रुक, गोलभेँडाको अचार, खाएपछि बडो तृप्ति आउने ठाउँ रहेछ त्यो। हामी दिउँसो १.०० बजे बागलुङग काली मन्दिर परिसर पुग्यौँ। मुख्यद्वारबाट मन्दिर पुग्न एक किलोमिटर रहेछ। गाडीको लागि निषेध गरिएको २० फिट फराकिलो बाटो दुवैतर्फ साल, चिलाउने, कटुश, आँप, बर, जामुन, धँएरो र बरका रूखहरू देखिन्थे। त्यस मन्दिरमा विवाह, व्रतबन्धजस्ता सामाजिक कार्यहरू पनि गरिँदो रहेछ। त्यसपछि हामी तल झरेर पर्वतको कुश्मातिर उँभो लाग्यौँ। कुश्मा नेपालको उदाहरणीय शहर रहेछ। त्यहाँ नेपालका सबैभन्दा उच्च र लम्बाई भएका दुईवटा महङ्खवपूर्ण झोलुङ्गे पुल रहेछन्। हामी बडागाउँ–कैया झोलुङ्गे पुल हेर्न गयौँ, बडागाउँ पर्वतको कुश्मापट्टि पर्दो रहेछ भने कैया बाग्लुङपट्टि। यो पुल कालीगण्डकीमाथि १५६ मिटरको उँचाइ र ३४७ मिटर लम्बाइको रहेछ। यसले पर्वतलाई बाग्लुङसँग जोड्दो रहेछ। यसको माथि एक पटकमा एउटा मोटरबाइक वारपार गर्न सकिँदो रहेछ। हामीले यसको वारपार गर्दै मज्जैसँग फोटो र सेल्फी लिने काम गर्यौँ। माथिबाट हेर्दा तल ससाना अन्य झोलुङ्गे पुल पनि देखिन्थे। त्यसपछि हामी फर्केरपहिला बसेको होटल म्यागनोलिया, पोखरा आयौँ। –साभार-वसुन्धरा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement