सड़कछाप मान्छेहरू

67

वैश्‍विक महामारीको व्याधिले भेटेपछि

देश हठात् लकडाउन भएर

जनजीविका बेहाल भएपछि

उद्योग धन्दा चौपट बनेपछि

परदेशमा खाली पेट कति दिन रहन सक्थ्यौं र!

परदेशमा अनाम मृत्यु कसरी मर्न सक्थ्यौं र!

यही भन्ठानेर

सड़कै सड़क भएर

हामी सड़कछाप मान्छेहरू

माइल-माइलको दूरी पार गरेर

महाराष्ट्रदेखि भागलपुर

दिल्लीदेखि समस्तीपुर

बेङलोरदेखि डिमापुर

लालाबाला-झिरीझिम्टी च्यापेर

हिँड़्दै-बिसाउँदै, बिसाउँदै-हिँड़्दै गरिरह्यौं

भएको गुड़-चिउरा खायौं

नभएपछि हिँड़िरह्यौं

जहॉं जसले खिँचड़ी-भात खुवायो,

खायौं अनि हिँड़िरह्यौं

खुट्टाभरि ठेला, शरीरभरि यन्त्रणा लिएर

समस्तीपुर पुग्यौं

अनि जिन्दगीले दिएको थपेड़ा सम्झेर यात्रा बिसायौं।

माझपथमा थियौं

‘लकडाउन छ, रेल कहॉंबाट आउँछ?’ भन्ठानेर

रेलपथमा सुत्यौं

तर आजै रेलगाड़ी आएर हामी सर्वनाश भयौं

सर्वनाश नहोस् नै भनेर हिँड़ेको हामी

अन्ततः सर्वनाश नै भयौं।

‘जे हुन्छ घरमै मर्छौं’ भनेर

घर फर्कँदैथियौं मोटर चड़ेर

त्यही मोटर दुर्घटित भएर माझपथमै सकियौं

जे नहुनु भन्थ्यौं

त्यही भएर सकियौं।

साइकल र रेनकोट किनेर

सड़कै सड़क कुदेर

रात परेपछि कुनै दोकानको बार्दलीमा ओत लागेर

धेरै दिनको यात्रा हिँड़िरह्यौं

अनि, बेङलोरदेखि डिमापुर पुग्यौँ

जो हाम्रो पुर्खाभूमि थियो

एकमुट्ठी सास घर पुर्‍याउनु थियो।

हामी त्यसरी हिँड़ेको देखेपछि

बाटामा गस्ती लगाइरहेका पुलिसले

कुनै मोटरको व्यवस्था गरिदिन सक्थ्यो

बाटामा रातो बत्तीको मोटर हॉंकेर हुइँकिने

कुनै ब्युरोक्रेटले घर पुग्ने व्यवस्था मिलाइदिन सक्थ्यो

तर सुशान्त सिंहको मृत्युमा

लामो समयसम्म शोकधुन बजाइरहने राष्ट्र

सड़कछाप मजदूर मृत्युमा मूक रह्यो

सुशान्त सिंहको मृत्युरहस्य खोजिहिँड्ने मीडियालाई

मजदूर यातना/मजदूर मृत्यु

फिका-फिका लाग्यो

टी.आर.पी.रहित लाग्यो।

                                  ( ३०/०७/२०२०)

टी.आर.पी. टेलीभिजन रेटिङ पोइण्ट

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement