नयाँ दिल्ली: चुनाव आयोगले बुधबार उपराष्ट्रपति पदको निम्ति चुनाव कार्यक्रमको घोषणा गरेको छ। एकभन्दा अधिक उम्मेदवार भएमा ६ अगस्तमा मतदान हुनेछ अनि त्यही दिन परिणाम आउनेछ। उपराष्ट्रपति एम वेङ्कैया नायडूको कार्यकाल १० अगस्तमा समाप्त भइऱहेछ। आयोगले यस सम्बन्धमा बुधबार बैठक गऱ्यो। यस बैठकमा मुख्य चुनाव आयुक्त राजीव कुमार र चुनाव आयुक्त अनूप चन्द्र पाण्डे सामेल थिए। बैठकपछि आयोगले चुनाव कार्यक्रमको घोषणा गऱ्यो। उपराष्ट्रपति पदको निम्ति संसदका दुवै सदनका सांसदले भोट गर्छन्। कूल ७८८ सांसदले उपराष्ट्रपति पदको निम्ति भोट गर्नेछन्। यसमा राज्यसभाका २३३, नामित सदस्य १२ र लोकसभा सदस्य ५४३ छन्।
लोकसभा महासचिव यस चुनावमा पीठासीन अधिकारी हुनेछन्। सबै सांसदहरूलाई आयोगको तर्फबाट मतपत्र र त्यस निशानको निम्ति पेन दिइनेछ। मतदान संसद भवनमै हुनेछ। आयोगको तर्फबाट जारी कार्यक्रमअनुसार उपराष्ट्रपति पदको निम्ति ५ जुलाईमा अधिसूचना जारी गरिनेछ। १९ जुलाईसम्म नामांकन गर्नसकिन्छ। २० जुलाईमा नामांकनको जाँच हुनेछ। नाम फिर्ता लिने अन्तिम मिति २२ जुलाई हो। एकभन्दा अधिक उम्मेदवार भए ६ अगस्त बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुनेछ। त्यही दिन मतदानको परिणाम आउनेछl