कालचिनीः शनिबार सम्पन्न हुने पाँचौँ त्रिस्तरीय पञ्चायत चुनाउको निम्ति शुक्रबार कालचिनी डीसीआरसी केन्द्रबाट प्रायः १५५० भन्दा अधिक भोटकर्मीहरू पश्चिम बंगाल पुलिसको एक एकजना सुरक्षाकर्मीहरूसित आ-आफ्नो गन्तव्य बुथहरूमा प्रस्थान भयो। कालचिनी स्थित यूनियन एकाडेमी स्कूलको परिसरमा रहेको डीसीआरसी केन्द्रबाट कालचिनी खण्डको ११ वटा ग्राम पञ्चायत क्षेत्रमा रहेको २५८ वटा बुथहरूमा भोटकर्मीहरू प्रस्थान भएको कालचिनी बीडीओ प्रशान्त बर्मनले जनाएका छन्।
केन्द्रिय बल आउने व्यापक होहल्लाबीच डीसीआरसी केन्द्रमा भने एकैजना केन्द्रिय बलको जवान नदेख्दा कतिपय भोटकर्मीहरूमा नैराश्य पनि छाएको देखियो।
कहाँ गयो केन्द्रिय बल भन्ने प्रश्नको जवाफमा कालचिनी बीडीओ प्रशान्त बर्मनले यसको विवरण उच्च अधिकारीहरूले दिनसक्ने तर डीसीआरसी केन्द्रमा सबै थोकको व्यवस्था रहेको र २५८ वटा बुथहरूको निम्ति प्रायः २९० वटा भन्दा अधिक वाहनहरूको व्यवस्था रहेको र भोट शान्तिपुर्वक गराउने तयारी चलिरहेको जनाएका छन्। यता केन्द्रिय बलको आगमनबारे कालचिनी र जयगाउँ थाना अन्तर्गत ३६ जना केन्द्रिय बल आईपुग्ने र ९ जना गरेर सम्वेदनशील बुथहरूमा केन्द्रिय बलको तैनाती गरिने पुलिस सुत्रले जनाएका छन्।