बिरुवा रोपेको फोटो खिचेर मात्रै हुँदैन, त्यसलाई स्याहार-सुसार पनि गर्नुपर्छः वन मन्त्री

santati_808

सोरेङः मुख्यमन्त्री ग्रीन स्कूल रोलिङ ट्रफी एवं स्टेट ग्रीन स्कूल पुरस्कार २०२३ को विजेता मंगन जिल्लाको फेन्सोङ माध्यमिक विद्यालय र नाम्ची जिल्लाको मल्ली उच्चतर माध्यमिक विद्यालय बनेको छ। विजेता दुवै स्कूललाई पुरस्कार स्वरूप वन विभागले पाँच लाख रुपियाँ मुख्य अतिथि विधानसभाका अध्यक्ष अरुण उप्रेतीको बाहुलीबाट प्रदान गरियो। यसरी नै पाकिम जिल्लाको माझीटार माध्यमिक विद्यालय, सोरेङ जिल्लाको कृपाशल्यण उच्चतर माध्यमिक विद्यालय र गान्तोक जिल्लाको लिङदिङ निम्न माध्यमिक विद्यालयलाई पुरस्कार स्वरूप एक-एक लाख रुपियाँ प्रदान गरिएको छ। गेजिङ जिल्लाको सरकारी निम्नमाध्यमिक विद्यालय सिङ्पिङ र मंगन जिल्लाको नर्थ सिक्किम एकाडेमीलाई पचास-पचास हजार रुपियाँ प्रदान गरियो।

सोरेङ जिल्लाको हिलेमा आयोजित राज्य स्तरीय “डे फर मदर अर्थ“ को चौथो संस्करण कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती प्रमुख अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा, वन विभागका मन्त्री कर्मा लोडे भोटिया, क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पा, विधायक आदित्य गोले, सोरेङ जिल्लाकी जिल्ला पञ्चायत अध्यक्ष तिलादेवी गुरुङ, सिक्किम राज्य व्यापार निगमका सल्लाहकार एनटी भोटिया, स्टेट ब्याङ्क अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, राज्य अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा, जनस्वास्थ्य अभियान्त्रिकी विभागका अध्यक्ष हरि नारायण सुवेदी, सिक्किम स्टेट मेडिसिन प्लान्ट बोर्डका अध्यक्ष महेन्द्र गुरुङ, जिल्ला तथा ग्राम पञ्चायतगण, जिल्लापाल भीम ठटाल आदि उपस्थित थिए।

सम्बोधन गर्ने क्रममा वन विभागका मन्त्री कर्मा लोडे भोटियाले वन विभागले मेरो रुख मेरो सन्तति कार्यक्रम अन्तर्गत नवजात शिशुको नाममा १०८ वटा विरुवा रोप्ने सिक्किम सरकारको महत्त्वकांक्षी कार्यक्रमलाई जमीनी स्तरमा राज्यभरि कार्यान्वयन गरिरहेको अभिव्यक्ति प्रकट गर्दै “मेरो रुख मेरो सन्तति“ अन्तर्गत जति पनि विरुवाहरु रोपिँदैछ ती विरुवाहरुलाई जोगाउने र बढाउने आह्वान गरे। उनले बिरुवा रोपेको फोटो मात्रै नखिचेर त्यसलाई स्याहार-सुसार पनि गर्नुपर्छ भने। सिक्किमका विपक्षी पार्टीहरुले सिक्किमको हरियाली क्षेत्र घटेको आरोपको जवाफ दिँदै वन मन्त्री लोडेले सिक्किमको हरियाली ४३ प्रतिशतदेखि बढेर ४७ प्रतिशत पुगेको पनि दावी गरे। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा सिक्किम सुरक्षित रहेको बताउँदै वन विभागले जङ्गल फाडेर बेचेको छैन भने। अर्कोतिर मन्त्री लोडेले अवैध रूपमा रुक काट्नेलाई विभागले जरिमाना तिराएको पनि बताए।

मन्त्री लोडेले पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा अहिलेसम्म राज्यबाट वन विभागमा मेरो रुख मेरो सन्तति कार्यक्रम अन्तर्गत तीन हजार चार सयजना नवजात शिशुले पञ्जीकरण गराइसकेको जानकारी गराए। मन्त्री लोडेले मुख्यमन्त्रीले १ जुलाईको दिन जोरथाङमा सम्पन्न ग्वाला दिवसको अवसर सिक्किम पर्यावरण पर्वको थालनी गरेर पर्यावरण संरक्षण र प्रबन्धनको क्षेत्रमा सराहनीय कार्य गरेको बताउँदै राज्यका सम्पूर्ण जनमानसलाई पर्यावरणको सुरक्षा गर्न अघि आउने अपील गरे। कार्यक्रममा वर्तमान सरकारले पर्यावरणलाई संरक्षण र सम्बर्द्धनको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको मन्तव्य विधानसभा अध्यक्ष अरुण उप्रेतीले जाहेर गर्दै सिक्किम देश कै हरियाली राज्य रहेको बताए। उनले सिक्किम देश कै ग्रीन स्टेट हो भन्ने नयाँ नममना बनाउनुपर्छ भनी आह्वान गरे। यसो हुँदा सिक्किममा पर्यटन उद्योगमा ठूलो फाइदा हुने उनको अभिव्यक्ति थियो।

उनले अघि भने, मेरो रुख मेरो सन्तति अन्तर्गत रोपिएको विरुवालाई माया गर्नुपछ, रुखलाई बन्चरोले हान्न अघि आफ्नो नानीलाई बन्चरो हानेको सम्झनु पर्छ। हामीले हाम्रो पर्यावरणको हामी आफै सुरक्षा गर्नुपर्छ। मुख्य अतिथि उप्रेतीले पूर्व एसडीएफ सरकारको २५ वर्षे शासनभन्दा वर्तमान एसकेएम सरकारले चार वर्षमा त्यो भन्दा बेसी काम गरेको ठोकुवा गर्दै रहल एक वर्षमा विकासको खोला बगाउने उनले बताए। स्मरण रहोस्, मुख्यमन्त्री प्रेमसिंह गोलेले मेरो रुख मेरो सन्तति अभियानको यसै वर्ष २ फरवरीको दिन शुरूवात गरेको थियो। यो अभियान अन्तर्गत अब राज्यमा नवजात शिशुको नाममा एक सय आठवाट विरुवा अनिवार्य रुपमा रोप्नु पर्ने नियम बनाएको छ। उक्त विरुवाहरु नवजात शिशुको परिवारलाई वन विभागले विरुवाहरू उपलब्ध गराउने छन्। पर्याप्त जमीन हुनेहरुले आफ्नो जमिनमा अनि जमिन नहुनेहरूको निम्ति वन विभागले नै विरुवा रोप्नको निम्ति जमिन उपलब्ध गराउने प्रावधान रहेको छ। नानी गर्वअवस्थामा हुँदा नै माता पिताले आशा, आँगनवाडी, पञ्चायत मार्फत मेरो रुख मेरो सन्ततिको निम्ति पञ्जिकरण गर्नुपर्ने हुन्छ। यसलाई राज्यवासीले अनलाइनमार्फत पनि पञ्जिकरण गर्नसक्ने छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement