बीरपाडा: दुम्सीपाडा चियाबारी स्थित दुम्सीपाडा बाडालाइन नेपाली प्राथमिक विद्यालयमा आज शिक्षकहरूले मनाए असारको पन्ध्र।
विद्यालयहरूमा छुट्टी दिने नियम न भएपनि उक्त विद्यालयका शिक्षक-शिक्षिकाहरूले विद्यार्थीहरूसँग असारको पन्ध्र परम्पराको पालन गऱ्यो। विद्यालयमा आज मध्यान्ह भोजन अघि दही, चिउरा, कटहर आदि ग्रहण गरेर उक्त परम्पराको पालन गरियो। उक्त विद्यालयका भारप्राप्त शिक्षक बुद्धिमान लामा तामाङले असार पन्ध्रको महत्व बताउदै भने कि असारको पन्ध्र वा दही चिउरा खाने दिनको महत्व भारतीय नेपाली कृषकहरूको निम्ति एउटा चाँड झै रही आएको छ। तिनले भने यस चाँड मनाउन पर्ने विशेष कारण असारको पहिलो साता देखि मनसुन शुरू भएपछि असारको पन्ध्रसम्म कृषकहरूले खेतको गऱ्हामा धान रोप्नमा व्यस्त हुन्छ। यस कारण कृषकहरूले यस दिन भात-रोटीको सट्टा दही-चिउरा अनि यस ऋतुमा पाइने फलहरू खाएर पेट भर्ने गर्दछन्। तिनले आज भने कि पुर्खा पुर्खादेखि चलिआएको असारको पन्ध्र भारतीय नेपाली कृषकहरूको निम्ति एउटा चाँड समान रही आएको छ। यो चाँड केवल कृषकहरूले मात्र नमनाएर नेपाली जनसाधारणले पनि मनाउदै आइरहेका छन्।
सह शिक्षक आकाश प्रधानले देशको निम्ति योगदान दिने कृषकहरूलाई पनि स्मरण गराउदै विद्यार्थीहरूलाई यस दिनको विस्तृतरूपमा महत्व बताए।

आज उक्त विद्यालयमा सम्पूर्ण विद्यार्थीहरू लगायत भारप्राप्त शिक्षक बुद्धिमान लामा तामाङ तथा सहयोगी शिक्षक- शिक्षिकाहरू आकाश प्रधान, उमेश प्रधान, वर्षा राई, नमिता लामा, लीला छेत्री, सुष्मिता लामा साथै अशिक्षण कर्मचारीहरू उपस्थित थिए।