गान्तोक: पाकिम जिल्लाको चुनाउ सेल र एसिस्टेन्ट इल्कट्रोल रोल अफिसर (एइआरओ) संयुक्त पहलमा राज्यका शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई लिएर एक सचेतना कार्यक्रम आयोजना गरियो। पाकिम जिल्लाको याङतेन ग्राम प्रशासन केन्द्रमा आयोजित सचेतना कार्यक्रमको मुख्य लक्ष्य र उद्देश्य शारिरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति बराबर अधिकार, अवसर प्रदान गर्नको साथै उनीहरूको उत्तरदायित्वका आधारभूत कुराहरूलाई समर्थन गर्नु र उनीहरूलाई चुनाउमा सहभागिता जनाउनु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै महकुमा अधिकारी थेन्डुप लेप्चाले भारतीय चुनाउ आयोगको नयाँ नियम अनुसार शारिरिकरूपमा असक्षम व्यक्तिहरू जसको उमेर १८ वर्ष पुगेको छ, उनीहरूले आफ्नो मत व्यालेटद्वारा गर्नको निम्ति पञ्जीकरण गराउनु पर्ने विषयमा जानकारी गराए।

सोही प्रकारले चुनाउ आयोगकी उपसचिव मेरिना राईले शारिरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति विभिन्न प्रकारको योजना शुरू गरेको बताउँदै यसको लाभ उठाउनु पर्ने आग्रह गरिन्। विशेष गरेर चुनाउको समयमा मतदान गर्नको निम्ति ईभीएम मशिनमा ब्रेल, पोस्टल व्यालेट लगायत अन्य सुविधाहरूबारे जानकारी गरिन्। उनले थप जानकारी गराए अनुसार शारिरिकरूपमा असक्षम व्यक्तिहरूले मतदान सहजसँग प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले भारतीय चुनाउ आयोगले मतदान मोबाइल एप्लीकेसन एप्स, लगायत अन्य विभिन्न कुराहरूमा विकास गरेको छ।