काठमाडौं: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड”को विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी नेकपा एमालेले राजीनामा मागेको छ। बुधबार नेपालको राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रचडले तत्काल राजीनामा दिनुपर्ने माग गरे। प्रचण्डलाई भारतको इशारामा प्रधानमन्त्री बनेको आरोप लगाउँदै तत्काल राजीनामा दिन भनेका हुन्।
‘भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिदैनौं’, दाहालले भने। आजै विहान बसेको नेकपा एमाले एमाले संसदीय दलको बैठकले प्रचण्डले प्रधानमन्त्री पदमा बस्ने आधार गुमाएको निष्कर्ष निकालेको छ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लेखक किरणदीप सिन्धुद्वारा लिखित पुस्तक रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपालको विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले खेलेको भूमिकाको व्याख्या गरेका थिए। उनले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि कहिले दिल्ली जाने गरेको त कहिले नेपालका मुख्य दलका नेताहरुसँग छलफल गर्ने गरेको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्र निकट विद्यार्थी युनियनको कार्यक्रममा आज बोल्दै आफूले उक्त अभिव्यक्ति दिएको स्वीकारेका छन्। तर, यो विषयलाई लिएर हंगामा मच्चाउन खोजिएको बताए। उनले विपक्षीको चुनौती सामना गर्ने बताए। प्रितम सिंह नेपालमा पहिलोपटक ट्रक ल्याउने शिख समुदायका हुन्। उनको बारेमा पुस्तक प्रकाशित भएको छ। -हिस