चुनावमा भागोप्रमोको जीत निश्चित: सुनिल थापा

00-1-IMG-20230705-WA0244

सुकना: तेइसवर्षपछि पहाड़मा हुन गइरहेको दुइस्तरीय पंचायत चुनावको प्रचारमा ओर्लिएका भागोप्रमो प्रार्थीहरूले आफ्नो चुनाव प्रचार तीव्र गतिमा भइरहेको बताएका छन्। चुनाव प्रचारकै क्रममा बुधवार भागोप्रमो पंचायत सदस्य प्रार्थी सुनिल थापाले यसपालि भागोप्रमोको जीत निश्चित रहेको बताए। सुकनामा मात्रै नभएर सम्पूर्ण पहाड़बाटै कमलको फूललाई जरैबाट उखेलेर फ्याँक्ने जनसाधारणले यसपालि मन बनाइसकेको पनि तिनले बताए। भाजपाका सांसद राजु विष्टबारे बोल्दै थापाले उनको साढ़े चार वर्षको अवधिमा पहाड़मा केही गरिदिएको भए आजको दिनमा सांसदले गाउँ-गाउँ घुमेर भोटको अपील गरिरहनुपर्ने आवश्यकता नै पर्ने थिएन भनी बताए। सांसद विष्टले सिलगढ़ीमा हजारौं करोड़को फोरलेनको बाटो, एनजेपी स्टेशन अनि बाघडोग्रा हवाइअड्डाको आधुनिकीकरण जस्ता कार्यहरू केन्द्र सरकार मार्फत् गराए पनि तर उनले आफ्नो विकासको गाड़ीलाई दार्जीलिङ मोड़देखि माथि नचढ़ाएको थापाले आरोप लगाए।

राजु विष्टलाई वास्तवमा पंचायत चुनाव हार्नु-जित्नुसँग कुनै सरोकार नरहेको तर २०२४ को सांसद भोटको निम्ति उनले मैदान बाँध्नथालेको पनि थापाले बताए। सुकनामा भाग एकमा भाजपाकै विधायक, भाग दुईमा पनि भाजपाकै विधायक अनि सांसद पनि भाजपाकै भए तापनि भाजपाले यहाँ विकासको नाममा केही नगरेको बताउँदै भाजपाको झण्डा अनि केही स्वार्थी अनुहारहरू केवल भोटको बजारमा मात्र यहाँ देखिने उनले आरोप लगाए। यस क्षेत्रमा गाउँवासीको दुःख सुखमा  आफूहरू सदा उभिएको अनि सधैँ खडा रहने उनले अझ बताए।

सुकनामा ग्राम पंचायतमा जम्मा १३ जना सदस्यहरू रहेको तथा यहाँ बोर्ड गठन गर्न कम्तीमा सात जनाले जित्न आवश्यक रहेको बताउँदै भागोप्रमो दुईवटा आसनमा निर्विरोध विजय भइसकेको जनाए। सुकना क्षेत्रमा भागोप्रमोले विगतमा आफ्नो सामर्थ्य अनुरूप धेरै विकास कार्यहरू गरेको जनाउँदै आगामी दिनमा बोर्ड गठन गरेपछि क्षेत्रवासीका बुनियादी समस्याहरूलाई सुल्झाउन आफूहरू कटिबद्ध रहेको पनि थापाले बताए। भोटको समयमा सुकनावासीलाई भाजपाले सधैँ झुक्याउने गरेको र अबको यस पंचायत भोटमा सबैले भावनाले नभएर दिमागले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थीहरूलाई मोमबत्तीको चिन्हमा भोट दिएर  विकासको क्रमलाई अझ गति प्रदान गरिदिने अपील पनि गरेका छन्। उल्लेखनीय छ, बुधबार चुनावी प्रचारको क्रममा भागोप्रमो अध्यक्ष अनित थापा सुकना आएका थिए। उनले क्षेत्रका पार्टी उम्मेदवारहरूलाई जीतको निम्ति अग्रिम शुभकामनासितै बधाई पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement