सिलगढी: कोरोनाको महामारीमा सबै घरमा थुनुवा पर्दा सबैलाई केही हदसम्म आध्यात्मिक कार्यकलापमा व्यस्त राख्नलाई अप्रेल महिना २०२० मा ‘हिमाली बौद्ध साधना संघ’ नाम गरी एउटा आभासी मञ्च (भर्चुअल प्ल्याटफर्म) गठन भएको थियो। विश्वको चौतर्फी आवासित बौद्धमार्गीहरूलाई घरमै बसी विविध बोधिसत्वहरूको मन्त्र जप गराउँदै तथा ती मन्त्रहरूलाई बौद्ध धर्मका विशिष्ट धर्मगुरुहरुबाट सर्व प्राणीहरूको हितको निम्ति प्राणिधान प्रार्थना अर्पण गर्दै आइरहेको छ। यसै संघको तत्वावधानमा विविध सामाजिक एवं शिक्षामूलक कार्यक्रमहरूको सम्पन्न हुँदै आइरहेको छ।
सन् २०२१ देखि समाजका युवा पिढीमा पनि आध्यात्मिकताको विकास प्रस्फुरण होस् भन्ने ध्येयले निबन्ध लेखन तथा अनलाइन प्रश्नोत्तरी प्रतियोगिता आयोजन गर्दै आइरहेको छ। यसपल्टको निबन्धको विषय थियो ‘विश्वमा बौद्ध धर्मको प्रसारण र संरक्षणमा परम पावन १४वाँ दलाई लामाको भुमिका’। यस प्रतियोगितामा जम्मा पन्द्रह जना युवाहरूले सहभागिता जनाएका थिए। मनप्रसाद योञ्जन, श्रीमती शारदा योञ्जन, निमा रिन्छेन योल्मो तथा वरदान जिम्बाद्वारा गठित निर्णायक मण्डलीको निष्पक्ष मूल्यांकनको फलस्वरूप ज्योड्रेन भोटिया, दार्जीलिंग प्रथम, सुश्री प्रज्ञा पारामिता तामाङ्ग, डाबग्राम, जलपाईगुड़ी र सुश्री प्रमिला राई, घलेटार सिटोङ्ग संयुक्तरूपले दोस्रो अनि सिद्धार्थ तामाङ, दार्जीलिङले तेस्रो स्थान ओगटेका छन्। उक्त निबन्ध लेखनका विजेताहरूलाई नगद राशि एवं प्रमाण पत्र साथै अन्य प्रतियोगीहरूलाई पनि प्रमाण पत्र आउँदो २१ जुलाईमा प्रथम धर्म चक्र प्रवर्तनको दिन वितरण गरिनेछ।
आयोजक तर्फबाट निर्णायक मण्डली तथा सम्पूर्ण प्रतियोगीहरू एवं उनका अभिभावकहरू प्रति हार्दिक धन्यवाद प्रकट गरेका छन्। आउँदो २१ जुलाईमा सबै प्रतियोगीहरुलाई पुरस्कार समारोहमा उपस्थित भईदिने एवं स्थान र समय केही दिन पछि सुचना मार्फत पासाङ भोटिया, संघका संस्थापक सचिवद्वारा प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।