कालचिनीः मदारीहाट बीरपाड़ा खण्ड अधीनस्थ पर्ने लंकापाड़ा ग्राम पञ्चायत, हन्टापाड़ा, बीरपाड़ा २ नम्बर र टोटोपाड़ा बल्लालगढी ग्राम पञ्चायत क्षेत्रमा पर्ने १७ नम्बर जिल्ला परिषदका तृणमूल प्रार्थी विशाल गुरुङको पक्षमा बुधबार भोटाङ सीमान्त लंकापाड़ा बजारमा चुनावी जनसभा साथै शान्ति ऱ्याली निकालियो। बुधबार दिउँसो लंकापाड़ा क्षेत्रको बजारमा तृणमूलको चुनावी जनसभा हुन अघि लंकापाड़ा लगायत माक्रापाड़ा, तुलसीपाड़ा र रामझोड़ा क्षेत्रका विभिन्न सामाजिक संस्था अनि क्लबहरूको सहयोगितामा स्थानीय युवा समाजसेवी तथा जिल्ला परिषद प्रार्थी विशाल गुरुङको समर्थनमा शान्ति ऱ्याली निकालियो।
ऱ्याली सम्बन्धमा जिल्ला परिषद प्रार्थी विशाल गुरुङले यो केवल राजनैतिक ऱ्याली मात्र नभएर लंकापाड़ाको पहिला जुन सुनाम थियो त्यसलाई फर्काई ल्याउन सबै सचेत वर्गले गरेको प्रयास हो र सबैको सकारात्मक समर्थन आफूले पाईरहेको र आफू जिल्ला परिषदमा निर्वाचित भए लंकापाड़ालाई पर्यटन स्थलको रुपमा विकास गर्ने र यहाँको मूलभूत सुविधाहरूलाई जनताप्रति पुऱ्याउन आफू कटिबद्ध रहेको जनाएका छन्। आज यसै ऱ्यालीमा सहभागी बन्न आएका बीरपाड़ाका समाजसेवी भुपु शिक्षक कृष्णबहादुर श्रेष्ठ र समाजसेवी जुगेश राईले आफूहरू यहाँ केवल राजनैतिक रुपमा नभएर लंकापाड़ाको परिवर्तन र यहाँको आधारभूत विकासको स्वार्थमा जिल्ला परिषद प्रार्थी विशाल गुरुङको पक्षमा सबैलाई एक हुने आह्वान गर्न आएको र विशाल गुरुङ जस्तो शिक्षित अनि योग्य प्रार्थीलाई जिताए शायद यहाँका मानिसहरूले न्याय पाउने जनाएका छन्।