सिलगढीः सिलगढीमा व्यापारी अपहरण प्रकरणमा पक्राउ परेका थप एक अभियुक्तलाई आज अदालतमा पेश गरिएको छ। सिलगढीको चम्पासरी क्षेत्रका एक व्यापारीको अपहरण प्रकरणमा अनुसन्धान गरिरहेको प्रधाननगर थानाको पुलिसले यस मामिलामा थप एक जनालाई पक्राउ गरेको छ। अभियुक्तको पहिचान मोहम्मद मुराद अन्सारीको रूपमा गरिएको छ। अभियुक्तलाई बुधबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो। २४ जुनको बिहान सिलगढीको चम्पासरी इलाकाको नियमित बजार जाँदै गर्दा चम्पासरी मोड क्षेत्रबाट कागती व्यापारी प्रभाकर सिंहको अपहरण भएको थियो। प्रधाननगर पुलिस र एसओजीले घटनाको अनुसन्धानपछि थप एक जनालाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार मोहम्मद मुराद अन्सारीलाई मङ्गलबार बोलपुरबाट पक्राउ गरी सिलगढीको प्रधाननगर थानामा ल्याइएको थियो। बुधबार पुलिसले उनलाई सिलगढी हाई कोर्टमा पठाएर घटनाको अनुसन्धान शुरु गरेको थियो। यो गिरोहमा अन्य ठूला अपराधीहरू संलग्न छन् वा छैनन् भन्ने पनि पुलिसले अनुसन्धान गरिरहेको छ। उल्लेखनीय कुरा के छ भने यस घटनामा संलग्न रहेको आरोपमा पुलिसले धेरैलाई पक्राउ गरिसकेको छ। यस घटनामा हालसम्म ५ जना पक्राउ परेका छन्।