नेपाली आदि पत्रकार पादरी गङ्गा प्रसाद प्रधानको १७२औं जन्मजयन्ती भव्य रुपमा पालन

00-1-PGP-1

समाजका ६ जना उर्जावान व्यक्तित्वहरू सम्मानित

रम्फू (पूर्व सिक्किम): भारतीय नेपाली समाजमा आदि पत्रकारको रुपमा मानिएका पादरी गङ्गा प्रसाद प्रधानको १७२औं जन्मजयन्ती पूर्व सिक्किमको माझीटार, रम्फूमा अवस्थित जोशुवा अडिटोरियममा मंगलबार ४ जुलाईको दिन भव्य रुपमा पालन गरियोl उनको जन्मजयन्तीको कार्यक्रम पादरी गङ्गा प्रसाद स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको थियोl सन् २०१५ मा सिक्किमको राजधानी गान्तोकमा भएको विशेष कार्यक्रममा उनलाई प्रथम नेपाली आदि पत्रकारको रुपमा घोषणा गरिएको होl

धर्म, राजनीति, राष्ट्रियता स्थिर रहँदैन, परिवर्तन हुनसक्छl तर, जाति परिवर्तन गर्नु सक्दैन: सी के श्रेष्ठ

आज भन्दा सय वर्ष अघि दार्जीलिङको नेपाली समाज विकासको पहिलो खुड्किलोमा पाइला टेक्दै गर्दा पादरी गङ्गा प्रसाद प्रधानले भाषा-साहित्य, पत्रकारिता, शिक्षा, आध्यात्मिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिएl उनको यसै योगदानलाई सधैं ताजा राख्न प्रतिष्ठानले समाजमा विभिन्न क्षेत्रमा कार्य गर्दै आइरहेका उर्जावान व्यक्तित्वहरूलाई सम्मान जनाउने कार्य गर्दै आइरहेको छl

पादरी गङ्गा प्रसाद प्रधानबारे वार्ता प्रस्तुत गर्दै स्रोत वक्ता डा. छत्र पावल सुब्बाl

यसै सिलसिलामा पादरी गङ्गा प्रसाद प्रधानको जन्मजयन्तीको अवसरमा यस वर्ष पत्रकारिताको क्षेत्रमा सुपरिचित पत्रकार प्रभात पाठक, साहित्यको क्षेत्रमा एम एस खान, सामाजिक क्षेत्रमा रेन्बो चिल्ड्रेन होमकी संचालिका चन्द्रलेखा गुरुङ, शिक्षाको क्षेत्रमा दक्षिण सिक्किमको ताङ्जी विद्यालय, आध्यात्मिक क्षेत्रमा मणिराज राई र संगीतको क्षेत्रमा सोफियम ब्याण्डलाई विशेष सम्मान जनाइयोl ताङ्जी विद्यालयको सम्मान विद्यालयका प्रधानाध्यापक कुमार चौहानले ग्रहण गरे भने एक सय वर्ष पुगेका मणिराज आउन नसकेको हुँदा उनका छोराले सम्मान ग्रहण गरेl उनीहरू सबैलाई कार्यक्रमका मुख्य अतिथि नाट्यभुषण सी के श्रेष्ठको बाहुलीबाट स्मृति चिन्ह, सम्मान पत्र प्रदान गरेर सम्मान जनाइयोl प्रतिष्ठानका उपाध्यक्ष पत्रुस गुरुङले स्वागत सम्बोधनमा भने, ‘पादरी गङ्गा प्रसाद प्रधान युगको निम्ति परमेश्वरले जन्माउनु भएका पुरुष हुन्l’

गीत प्रस्तुति

कार्यक्रमका स्रोत वक्ता डा. छत्र पावल सुब्बाले पादरी गङ्गा प्रसाद प्रधानको योगदान बारेमा वार्ता प्रस्तुत गरेl आफ्नो वार्तामा उनले पादरी गङ्गा प्रसाद प्रधानको जीवन सङ्घर्षका साथमा नेपाली भाषा-साहित्य, पत्रकारिता, आध्यात्मिक, सामाजिक क्षेत्रमा पुर्याएका योगदानहरू बारे प्रकाश परेl पादरी गङ्गा प्रसाद प्रधानले बाइबल पहिलो पटक नेपालीमा अनुवाद गरेको विषयबारेमा डा. छत्र पावल सुब्बाले विस्तारमा बताएl सन् १९०१ को जनवरी महिनामा ‘द् अर्फनेस प्रेस’ किनेर ‘द् गोर्खा प्रेस’ नामकरण गरेर यहींबाट पहिलो सन् १९०१ को जनवरी महिनादेखि नै ‘गोर्खे खबर कागत’ आफ्नै सम्पादन र प्रकाशनमा मासिक पत्रिकाको रुपमा प्रकाशन गरेको उनले वार्तामा उजागर गरेl आफ्नो जीवनकालको अन्तिम वर्ष सन् १९३२ सम्म पादरी गङ्गा प्रसाद प्रधानले ‘गोर्खे खबर कागत’ प्रकाशन गरेर नेपाली भाषा-साहित्य, सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताएl

मुख्य अतिथि सी के श्रेष्ठले पादरी गङ्गा प्रसाद प्रधानको हरेक कार्यमा जातित्वको भावना रहेको बताएl उनले भने, ‘पादरी गङ्गा प्रसाद प्रधानले संसारमा सबैभन्दा ठूलो कार्य बाइबल नेपालीमा अनुवाद गरेl यसमा जातित्व प्रतिबिम्बित छl धर्म, राजनीति, राष्ट्रियता स्थिर रहँदैन, परिवर्तन हुनसक्छl तर, जाति परिवर्तन गर्नु सक्दैनl च्याँ (शैशवकाल)देखि चिहानसम्म जाति रहन्छl’

डुप छिरिङ र प्रतिष्ठानका महासचिव एवं सुपरिचित पत्रकार भीम रावतले संचालन गरेको कार्यक्रममा सुपरिचित नाटककार एवं चलचित्रका निर्देशक चुन्निलाल घिमिरेद्वारा तयार गरिएको पादरी गङ्गा प्रसाद प्रधानको वित्तचित्र प्रदर्शन गरियोl कार्यक्रमको प्रारम्भमा पादरी गङ्गा प्रसाद प्रधानकै गीत ‘गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेऊ…’ गाइएको थियो भने कविता वाचन र मारुनी नृत्य प्रस्तुत गरिएको थियोl पादरी गङ्गा प्रसाद प्रधानलाई समर्पित गरिएको गीत कार्यक्रम विमोचनरुपमा प्रस्तुत गरियो भने सो गीतलाई रातिदेखि युट्युबमा सार्वजनिक गरिएको छl कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवं सिक्किमका सुपरिचित वास्तुकार किरण, सुपरिचित पत्रकार प्रवीण खालिङ साथै अन्य विशिष्ट व्यक्तिहरू कार्यक्रममा उपस्थित थिएl प्रतिष्ठानका अध्यक्ष कमल चाम्लिङ कामराङ्गेले अध्यक्षीय भाषण प्रतिष्ठानको कार्य र उद्देश्यहरू बारे जानकारी दिएl             

नेपालमा राणा शाषण हुँदा ४ जुलाई १९५१ मा काठमाडौंको ठहिटी टोल ठमेलमा जन्मिएका नरसिंह नारायण पछिबाट गङ्गा प्रसाद प्रधानले परिचित बनेl दार्जीलिङमा चियाको बोटमा सुन फल्छ भन्ने हल्लाले उनका दाज्यु प्रभुनारायण अघिबाटै दार्जीलिङ भित्रिएका थिएl दाज्युले बोलाएको हुँदा परिवारै १९६१ दार्जीलिङ भित्रिएl यति बेला उनी दश वर्षका बालक थिएl दार्जीलिङमा आएर पनि उनले पाठशालाको दलानमा पाइला राख्न पाएका थिएनन्l कलिलै उमेर रोजगारीको लागि दार्जीलिङको गिङ चियाबारीको कारखानामा कोइला बोक्ने कुल्ली काममा लागेl पादरी म्याकफार्लेनले भेटेपछि उनको जीवनमा बृहत परिवर्तन आयोl १९ वर्षको उमेरमा पढ्न लेख्न सिकेl एकातिर पढ्दै गए अर्कोतिर सामाजिक, पारिवारिक संघर्ष र  सानी आमाको कचकचले खारिन्दै गएl सङ्घर्षले उनलाई मानव मूल्य बुझायो अनि यही मानव मूल्य प्रचारमा लागेर नेपालीमा प्रथम बाइबल अनुवाद गरे अनि ‘गोर्खे खबर कागत’ निकालेर नेपाली पत्रकारिता शुरु गरी समाजको विभिन्न क्षेत्रमा बहुमुल्य योगदान दिएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement