सिङ्ताम: पादरी गंगाप्रसाद प्रधानको १७२औं जन्म जयन्ती एंव सम्मान समारोह-२०२३ माझीटार, रम्फूमा भव्यरुपमा आयोजित गरियो। पादरी गंगाप्रसाद स्मृति प्रतिष्ठान सिक्किमद्वारा आयोजित यस कार्यक्रममा नाट्यभूषण सीके श्रेष्ठ मुख्य अतिथिको रुपमा उपस्थित थिए। जोशुवा अडिटोरियम, माझीटार, रम्फू सिक्किममा आयोजित यस कार्यक्रममा भारी संख्यामा ईसाइ धर्मावलम्बिहरुसहित प्रतिष्ठानका कार्यकारिणीवर्गको उपस्थिति रहेको थियो। कार्यक्रमलाई प्रतिष्ठानका महासचिव एंव पत्रकार भीम रावतले सञ्चालन गरेका थिए अनि स्वागत गीत र पुरानो बाइबलको अंश पठनसहित शुभारम्भ गरिएको तथा प्रतिष्ठानका उपाध्य पत्रुस गुरुङले स्वागत जनाइएको थियो भने डा. छत्र पावल सुब्बाले पादरी गंगाप्रसाद प्रधानको नेपाली भाषाको योगदानमाथि महत्त्वपूर्ण वार्ता प्रस्तुत गरे।
बरदाङ समूहद्वारा मारुणी नृत्य, पास्टर आइजेक छेत्री एंव समूहद्वारा गीत अनि कविता वाचन गरिएको यस भव्य कार्यक्रमको अवसरमा साहित्य क्षेत्रमा एम. एस. खान, समाजसेवी चन्द्रलेखा गुरुङ, पत्रकारितामा पत्रकार प्रभात पाठक, पास्टर मनिराज राई, शिक्षा क्षेत्रमा ताङ्जी स्कूल अनि लेप्चा जातिको लोक गीत-संगीत र संस्कृतिको विकासमा पुराएको योगदानको कदर गर्दै सोफियम ब्याण्डलाई आयोजक समितिका अध्यक्ष कमल चामलिङ कामराङ्गेको उपस्थितिमा मुख्य अतिथि सीके. श्रेष्ठ, निर्देशक चुनिलाल घिमिरे, प्रतिष्ठानका सल्लाहकार किरण रसाईलीको बाहुलीबाट सास ओड़ाएर स्मृति चिन्ह एंव सम्मान पत्र प्रदान गरी सम्मानित गरियो।
यस अवसरमा निर्देशक, निर्माता एंव साहित्यकार चुनिलाल घिमिरेद्वारा पादरी गंगाप्रसाद प्रधानमाथि निर्मित वृतचित्त पनि प्रदर्शित गरियो।