आदि पत्रकार गङ्गाप्रसाद जयन्तीमा विभिन्न व्यक्तित्त्व सम्मानित

si

गान्तोकः आदि पत्रकार गङ्गाप्रसाद प्रधानको १७२ औँ जन्म जयन्तीलाई भव्यताका साथ पालन गर्दै मंगलवार विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्ति एवम् संस्थालाई सम्मानित गरियो। पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत रम्फू माझीटारस्थित जोशुवा प्रेक्षालयमा पादरी गङ्गाप्रसाद स्मृति प्रतिष्ठानको तत्त्वावधानमा रङ्गारङ्ग कार्याक्रमका साथमा आदि पत्रकार गङ्गाप्रसादको जन्म जयन्तीलाई पालन गरिएको थियो। समारोहको प्रमुख आकर्षण गङ्गाप्रसाद स्मृति सम्मान कार्यक्रम थियो। प्रतिष्ठानले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएवापत् वरिष्ठ पत्रकार सिलगढी निवासी प्रभात पाठकलाई गङ्गाप्रसाद स्मृति पत्रकारिता सम्मानले विभूषित गऱ्यो। सामाजिक सेवाको क्षेत्रमा विशिष्ट योगदान दिएवापत् पूर्व सिक्किमको लिङदोकस्थित रेन्बो चिल्ड्रेन होम्सकी सञ्चालक चन्द्रलेखा गुरुङलाई सामाजिक सेवा सम्मानले विभूषित गरियो।

यसैगरी साहित्यको क्षेत्रमा वरिष्ठ साहित्यकार एमएस खानलाई अनि शिक्षाको क्षेत्रमा दक्षिण सिक्किमको ताङ्जी सरकारी प्राथमिक पाठशालालाई सम्मानित गरियो। ताङ्जी स्कूलका प्रधानअध्यापक कुमार चौहानले सम्मान ग्रहण गरे। लेप्चा लोक सङ्गीतको क्षेत्रमा लोकप्रिय बनेको गान्तोकको सोफियम ब्याण्डलाई सम्मानित गरियो। अध्यात्म क्षेत्रमा योगदान दिएवापत् मनिराज राई सम्मानित भएका छन्। समारोहका मुख्य अतिथि नाट्यभूषण सीके श्रेष्ठको बाहुलीबाट स्मृतिचिन्ह, अङ्गवस्त्र र प्रशस्ति-पत्रले सम्मानित गरियो।

समारोहमा आदि पत्रकारको भाषिक एवम् साहित्यिक योगदानमाथि स्रोत वक्ता डा. छत्र पावल सुब्बाले प्रकाश पारे। उनले आदि पत्रकार गङ्गाप्रसाद प्रधानको जयन्तीलाई सरकारी विदा घोषित गर्नुपर्ने कुरामाथि पनि बल दिए। मुख्य अतिथि सीके श्रेष्ठले गङ्गाप्रसादलाई जातिप्रति सचेत व्यक्ति बताउँदै उनको जातीय चेतबारे चर्चा हुनुपर्ने मन्तव्य गरे। उनी जातिप्रेमी भएकाले नै त्यस समय उनले स्थापना गरेको प्रेसको नाम गोर्खा प्रेस अनि समाचार पत्रिकाको नाम गोर्खे खबर कागत राखेको श्रेष्ठले बताए।

समारोहमा आफ्नो अध्यक्षीय सम्बोधन राख्दै प्रतिष्ठानका अध्यक्ष कमल चामलिङ कामराङ्गेले आदि पत्रकार गङ्गाप्रसाद प्रधानको जन्म जयन्तीमा उपस्थित छवटै जिल्लाबाट आएका अतिथिहरूप्रति आभार व्यक्त गरे। यस अवसरमा नाटककार एवम् चलचित्र निर्माता चुनिलाल घिमिरेद्वारा आदि पत्रकार गङ्गाप्रसादमाथि निर्मित वृत्तचित्र प्रस्तुत गरिएको थियो।

वरिष्ठ सङ्गीतकार एवम् वास्तुकार किरण रसाइली, नगर उन्नयन विभागका सचिव एमटी शेर्पा, खरसाङका पत्रकार सञ्जय प्रधान र चलचित्र निर्माता एवम् समाजसेवी किशोर दुङमाली समारोहका विशिष्ट अतिथि थिए। समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement