२९ जूनः विध्वंशी मिजासमा ब्याटिंग गर्ने दीपक हूडा (१०४)-को शतक अनि ओपनर सञ्जु सेमसनसँग उनले गरेको रेकर्ड साझेदारीको बुतामा भारतले अन्तिम बलसम्म चलेको रोमाञ्चक दोस्रो टी२० म्याचमा लड़ाकू आयरल्याण्डलाई ४ रनले पराजित गऱ्यो। यस जीतको साथै हार्दिक पाण्ड्याको कप्तानीमा रहने भारतले दुईवटा टी२० अन्तर्राष्ट्रिय म्याचको सीरीज २-०-ले झोलीमा हाल्यो। भारतले दिएको २२६ रनको लक्ष्यलाई खेदो गर्दै आयोजक आयरल्याण्ड एक समय त जीतको नजिक पुगिसकेको थियो तर उमरान मलिकले अन्तिम ओभरमा धैर्यको साथ कसिलो बलिंग गरेर भारतलाई जीत दिलाए। यसरी आयरल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो। आयरल्याण्डको टीमबाट कप्तान एण्डी बलबर्नीले सर्वाधिक ६० रन बनाए। उनले अन्य एक ओपनर पल स्टर्लिंगसँग मिलेर पहिलो विकेटको निम्ति ३४ बलमा ७२ रनको साझेदारी गरी भारतमाथि दबाउ सृष्टि गरे। आयरल्याण्डका कप्तानले ३७ बल खेलेर ७ वटा छक्का र ३ वटा चौका लगाए। यसरी नै स्टर्लिंगले ५ वटा चौका र ३ वटा छक्काको सहायताले केवल १८ बलमा ४० रन बनाए। यी दुई आउट भएपछि पनि भारतीय बलरहरूले रिहाई पाएनन्। गत म्याचमा असल ब्याटिंग गर्ने हेरी टेक्टर (३९), जर्ज डकरेल (अविजित ३४) र मार्क एडेअर (अविजित २३)-ले आक्रामक मिजासमा ब्याटिंग गर्दै रोमाञ्चलाई कायम राखे तर अन्तमा अनुभवको कमीले आयोजक टोलीलाई म्याच जित्नदेखि वञ्चित गऱ्यो। डकरेलले १६ बल खेलेर ३ वटा छक्का र ३ वटा चौका लगाए। भारतीय बलरहरूमा भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्नोई र उमरान मलिकले १-१ विकेट लिए।
यसअघि म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ७ विकेट गुमाएर २२५ रनको विशाल स्कोर बनायो। ओपनर ईशान किशन (३)-लाई तेस्रो ओभरमै गुमाए पनि शतकवीर हूडाले सेमसनसँग दोस्रो विकेटको निम्ति १७६ रनको रेकर्ड साझेदारी गरी भारतलाई विशाल स्कोर तर्फ अग्रसर गराए। भारतको तर्फबाट यो टी२० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको निम्ति सबैभन्दा ठूलो साझेदारी हो। यसअघि यो रेकर्ड रोहित शर्मा र केएल राहुलको नाममा रहेको थियो, जसले २०१७-मा इन्दौरमा खेलिएको म्याचमा पहिलो विकेटको निम्ति १६५ रन जोड़ेका थिए। यस अवधि सञ्जु सेमसनले टी२० अन्तर्राष्ट्रिय करियरको पहिलो अर्द्धशतक बनाए भने हुडा टी२० अन्तर्राष्ट्रियमा भारतको तर्फबाट शतक बनाउने दोस्रो खेलाड़ी बने। यसअघि भारतीय टीमबाट केएल राहुल (२), रोहित शर्मा (२) र सुरेश रैना (१)-ले शतक बनाएका थिए। सेमसन र हूडाले आयरल्याण्डका बलरहरूलाई कुनै मौका दिएनन्। हूडाले आफ्नो शतकीय ईनिंग्समा ५७ बल खेलेर ९ वटा चौका र ६ वटा छक्का लगाए। यसरी नै सेमसनले ९ वटा चौका र ४ वटा छक्काको सहायताले ४२ बलमा ७७ रन बनाए। भारतले अन्तिम ओभरहरूमा लगातार विकेट गुमाए पनि २२५ रन बनाउन सफल भयो। सूर्यकुमार यादवले १५ र कप्तान हार्दिकले अविजित १३ रन बनाए। हूडालाई प्लेयर अव् द म्याच र प्लेयर अव् द सीरीज चयन गरियो।











