गान्तोक: राज्यका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले आज छोङ्गेमा शहरी स्वास्थ्य एवं कल्याण केन्द्रको उद्घाटन गर्दै स्थानीय जनताको हितमा समर्पित गरे। यस अवधि उनीसँग राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागीय सचिव छेवाङ ग्याछो भोटिया लगायत अन्यको उपस्थिति रहेको थियो।
यस अवधि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री कुङ्गा निमा लेप्चाले
पूर्व सरकारको कार्यकालमा निर्माण गरेर छाड़ेको भवनको जीर्णोद्धार गरेर यो भवन निर्माण कार्य पूरा गरेर यसलाई आज शहरी स्वास्थ्य एवं कल्याण केन्द्रको रूपमा उद्घाटन गरिएको जानकारी गराए। १५औं वित्तीय आयोगमार्फत लगभग ७९ लाख रुपियाँको लागतमा यो अधुरो निर्माण कार्यलाई पूरा गरिएको मन्त्री लेप्चाले जानकारी गराए।
आज उद्घाटन गरिएको यस शहरी स्वास्थ्य एवं कल्याण केन्द्रमा जुन पूर्वाधारहरू स्थापित गरेको छ यसले छोङ्गे, रोङ्गे लगायत वरिपरिका क्षेत्रका मानिसहरूले धेरै लाभ उठाउन सक्ने मन्त्री लेप्चाले विश्वास व्यक्त गरेका छन्। पूर्व सरकारकालमा एक करोड़ ९२ लाखको लागतमा यस भवनको निर्माण कार्य शुरु गरिएपनि आधाकल्चो निर्माण गरेपछि यो भवन आधाकल्चो रहेको मन्त्री लेप्चाले स्मरण गराए। यसरी अपूर्ण रहेको यो भवन कुलतमा फँसेका युवाहरूको अड्डा बनेको कुरालाई ध्यानमा राख्दै आफूहरूले यसबारे उचित पहलको निम्ति मुख्यमन्त्रीसमक्ष गुहार लगाएको जानकारी गराए। यसरी आफूहरूको गुनासोलाई ध्यानमा राख्दै राज्यका मुख्यमन्त्री पीएस गोलेले तत्काल पहल गरेर यस भवनलाई यसरी शहरी स्वास्थ्य एवं कल्याण केन्द्रमा परिणत गरिदिएकोमा मन्त्री लेप्चाले राज्य सरकार अनि मुख्यमन्त्रीप्रति आभार प्रकट गरेका छन्।