मुम्बईः राष्ट्रवादी कंग्रेस पार्टी (राकंपा) फुटेपछि मंगलवार उपमुख्यमन्त्री अजीत पवारको गुटले नासिकस्थित राकंपा कार्यालयलाई कब्जा गरेको छ। यस कार्यालयमा अजीत पवार र छगन भुजबल समर्थकहरूले बिहानदेखिकै शरद पवार समर्थकहरूलाई प्रवेश गर्न दिएका छैनन्। यसले गर्दा नासिकमा तनाउपूर्ण स्थिति भएको छ। घटनास्थलमा पुलिस तैनाथ छ। राकंपाका दुई गुटमाझ बढ़्दो संघर्षलाई मध्यनजर गर्दै मुम्बईस्थित शरद पवारको आवास सिलवर ओकमा पुलिसको सुरक्षा बढ़ाइएको छ।
नासिक राकंपा कार्यालयमा मंगलवार शरद पवार गुटका कार्यकर्ताहरूले बैठक गर्ने भएका थिए। यसैलाई केन्द्र गर्दै बिहानदेखिकै कार्यालयलाई अजीत पवार गुटले कब्जा गरेको छ। अजीत पवार समर्थक अम्बादास खैरेले भने, यस कार्यालयमा आज कुनै बैठक हुनेछैन। बुधवार मुम्बईको बान्द्रामै अजीत पवारको नेतृत्वमा बैठक हुनेछ। तथापि शरद पराव समर्थकहरूले यसमाथि कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्।
राकंपाको नागपुर कार्यालयलाई पनि यसरी नै अजीत पवार समर्थकहरूले कब्जा गरेका थिए। यसै कारणले राकंपाका प्रदेश अध्यक्ष जयन्त पाटिलले नागपुरका अजीत पवार समर्थक गुजरलाई पार्टीबाट निलम्बित गरिदिएका छन्। राकंपाले अहिलेसम्ममा प्रफुल्ल पटेल, सुनील तटकरे, अजीत पवार सहित नौ विधायक र गुजरलाई निम्बित गरिसकेको छ।
राकंपाका राज्यसभा सदस्य प्रफुल्ल पटेलले मंगलवार मीडियामा दाबी गरेका छन्, विगत वर्ष २०२२- मै राकंपाका ५१ विधायकहरूले भाजपासित मिलेर सरकार बनाउने सहमति दिएका थिए। तर शरद पवारले समयमा निर्णय लिएनन्। यसैले एकनाथ शिन्दे समूहलाई सत्तामा सामेल हुने अवसर प्राप्त भएको थियो। प्रफुल्ल पटेलले भने, विधायकहरूलाई आफ्नो क्षेत्रमा काम गर्नको लागि सत्तामा बस्न आवश्यक छ जसले गर्दा उनीहरूले सरकारमा सामेल हुने निर्णय लिएका छन्।
-हिस