खरसाङ: तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायत अन्तर्गत सिमरिङ चियाबारीको २४१ नम्बरको बुथमा पहाड़को सत्तारूढ़ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र निर्दलीय प्रार्थीमाझ चुनावी प्रतिद्वान्दिता हुने देखिएको छ। यस बुथबाट पञ्चायत सदस्यको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पार्टीको तीनधारे महानदी समष्टिको उप सभापति राजु लामालाई खड़ा गरेका छन् भने सिमरिङमा निर्दलीय प्रार्थीको रुपमा दुईजना प्रार्थीहरू चुनाव मैदानमा उत्रेका छन्। ती दुईजनालाई बिक्की तामाङ र आशिष सुब्बा रहेका छन्। यी तीनजना प्रार्थीहरूमध्ये भागोप्रमोको प्रार्थी राजु लामा र निर्दलीय प्रार्थी बिक्की तामाङमाझ सोझो टक्कर देखिएको छ। सिमरिङ चियाबारीको यो २४१ नम्बर बुथको तीनजना प्रार्थीहरूमध्ये आशिष सुब्बासित सम्पर्क हुन सकेन भने दुईजना प्रार्थीहरूले पत्रकारहरूलाई सम्बोधन गर्दै आफ्नो आफ्नो जीतप्रति आशावादी रहेको बताएका छन्। दुवैले चुनाव प्रचार लगातार रुपमा गरिरहेका छन् भने जनतालाई घर दैलो अभियान गर्दै घर घर पुगेर भेट्ने कार्य गरिहेका छन्। यसपालीको पञ्चायत चुनावमा दुवैजना जीतप्रति आशावादी रहेको देखिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी राजु लामाले आफु निर्वाचित भएर पञ्चायत सदस्य बनेको खण्डमा यस क्षेत्रको जनताको लागि पञ्चायतमार्फत् सरकारी सहुलियतहरू लिएर आउने वाचा गरेका छन् साथै केही दिन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा आफै सिमरिङ क्षेत्रमा चुनाव प्रचार गर्न आएको अनि आफुले पहिलादेखि नै सिमरिङ क्षेत्रमा धेरै सामाजिक कार्यहरू गर्दै आईरहेको कारणले पनि आफ्नो जीतप्रति सय प्रतिशत आशावादी रहेको बताएका छन्। त्यसरी निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका बिक्की तामाङले गाउँ समाजको साथ पाएको दाबी गर्दै जीतप्रति सय प्रतिशत आशावादी रहेको बताएका छन्। उनले आफु मीडिया क्षेत्रमा रहेर धेरै कार्यहरू गरेको साथै जनताको हक र अधिकारको लागि बोल्ने कार्य गरेकोले जनताले भोट दिएर जिताउनेछ भनी आशा व्यक्त गरेका छन्। उनले आफुले जितेको खण्डमा कुनै पार्टीलाई समर्थन नगरेर स्वतन्त्र रूपमा रहेर नै कार्य गर्ने बताएका छन्।